प्रधानमन्त्री ओलीले भारतको इशारामा दुईपटक संसद विघटन गरेको घनश्याम भुसालको आरोप

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १३ जेठ ।

नेकपा एमालेको असन्तुष्ट पक्षका नेता तथा पूर्व कृषिमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको इशारामा संसद विघटन गरेको आरोप लगाए ।

उनले भने, ‘हिजो संविधान जारी हुन नदिने शक्तिहरूले पाँचपाँच महिनासम्म हामीलाई नाकाबन्दी गरे । पछि तीनै शक्तिको उक्साहटमा लागेर ओलीजीले अस्तिनै पुस ५ गते संसद विघटन गराउनुभयो । अहिले फेरि अस्ति उहाँले विघटन गराउनुभएको छ र यसलाई हामीले त्यो असोज ५ गतेदेखिकै प्रक्रियामा र त्यो सिलसिलामा हेर्नुपर्छ । यो पार्टी एकतालाई उहाँले विभाजन गर्न जाँदै हुनुहुन्छ, यो कारण हामीले उहाँको विरोध गरेको हो । कमरेड ओलीको विरोध गरेको अरु कारणले होइन ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र दम्भमा सत्ता मिसिएका कारणले जोसुकै माथि आक्रमण गर्न थालेको आरोप लगाएका छन् । एमालेका असन्तुष्ट समूहको जनसांस्कृतिक महासंघको भर्चुअल बैठकमा भुसालले गरेको सम्बोधनमा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘कम्युनिष्ट पार्टीमा नेकपा एमालेमा कमरेड ओली आउनुभयो । ओलीको त्यो अहंकार र दम्भमा सत्ता मिसियो । शक्ति र अहंकार मिलेपछि, त्यो अहंकारको रक्षाका लागि उहाँले जोसुकै माथि आक्रमण गर्नु हुने भयो । जस्तोसुकै अपराध गर्न उहाँ तयार हुनुभयो ।

उनले हिजो त्यही कारणले एकीकृत पार्टी नेकपा फुटाएको बताए । ‘हिजो त्यही कारणले एकीकृत पार्टी नेकपा फुटाउनुभयो अहिले उहाँले फेरि नेकपा एमाले पनि फुटाउन चाहनुभएको छ । मैले कमरेडहरूलाई एउटा खतरातर्फ के इंगित गर्दैछु भने, हामीलाई विभाजित गर्न चाहने शक्तिहरू बाहिर त छँदैथिए । अहिले हामीभित्रै पनि, कम्युनिष्ट पार्टीभित्रै पनि, एमालेभित्रै पनि कमरेड ओलीजी थपिएपछि समस्या आज नेकपा एमालेको समस्या हो,’ भुसालले भने, ‘यसलाई चानचुने समस्याका रूपमा नबुझौं ।

उनले यसलाई ओलीसँगको अन्तरविरोध वा उनीसँग नमिलेको कुरामात्र भनेर नबुझ्न आग्रह गरे । उनले राष्ट्रले लोकतान्त्रिक स्थिरताका साथ विकास गर्न चाहने यो प्रक्रियामा आएको अवरोध हो भनेर बुझ्नुपर्ने बताए ।

उनले भने, ‘हामीकहाँ सामाजिक, सांस्कृतिक रूपमा जरा गाडेका पार्टी भनेको फेरि पनि कांग्रेस हो र फेरि पनि नेकपा एमाले हो । यी दुईटा पार्टी कमजोर भए भने राष्ट्रिय मामिलामा खतरा आउँछ ।

उनले कांग्रेस र एमाले दुईमध्ये एक पार्टी बलियो नभए राष्ट्र अस्थीर र कमजोर हुने बताए । उनले भने, ‘कांग्रेस कमजोर भयो भने र एमाले बलियो भयो भने पनि राष्ट्र कमजोर हुँदैन । एमाले कमजोर भएर कांग्रेस बलियो भयो भने पनि त्यो खतरा रहन्न । तर दुवै शक्ति कमजोर भयो भने लोकतान्त्रिक स्थिरता कमजोर हुन्छ र राष्ट्र कमजोर हुन्छ ।

उनले नेकपा एमाले कमजोर हुनु भनेको नेपालको समाजवादको र समृद्धिको भविष्य कमजोर हुनु हो भन्ने जिकिर गरे । उनले भने, ‘यसका जराजुरी उखेलिने, नेकपा एमाले कमजोर हुने भनेको यसका जराहरू कमजोर हुने हो ।

उनले हामी एमालेको एकता बचाउन चाहनुको अर्थ राष्ट्रको एकता बलियो बनाउन चाहनु हो भने ।

उनले प्रधानमन्त्री ओलीले चारजना आफ्ना चाकरलाई राजनीतिक नियुक्ति खुवाएको, संवैधानिक नियुक्ति खुवाएको आरोप लगाएका छन् । उनले भने, ‘यसप्रति हाम्रो विरोध उहाँले विधि मिचेर यो सब गर्नुभयो भनेर त्यसका प्रतिमात्र असन्तुष्टि होइन । उहाँले खतरनाक दिशातर्फ मुलुकलाई धकेल्दै हुनुहुन्छ ।’

उनले प्रधानमन्त्री ओलीले मुलुकलाई खतरनाक मोडतर्फ किन धकेलेको, एउटा सानो गुटको हितका लागि त्यसलाई पालनपोषण गर्नका लागि र आफ्नो अहंकार र सत्ताको अभ्यास गरेको बताए ।

उनले भने, ‘आज हामी कहाँ छौं भन्दा नेकपा एमालेमा छौं । ओलीजीको विरोध गर्दैछौं । उहाँलाई सीमित गर्न सकेनौं भने, उहाँलाई प्रक्रिया र विधिभित्र हाल्न सकेनौं भने यो पार्टी एक रहदैन । विधि मान्ने कुराले सबैलाई एक ठाउँमा जोड्छ । विधिलाई कमजोर पारियो भने एमाले कमजोर हुन्छ । विधिमा सहमति भएन भने एमाले विभाजित हुन्छ । हामी विभाजित भयौं भने राष्ट्र कमजोर हुन्छ, हामीलाई फुटाउने शक्तिहरू बलिया भएर जान्छन् । त्यसले गर्दा हामी एमाले एकताको पक्षमा छौं । हामी आत्मसमर्पण गर्दैनौं भन्नुको अर्थ विधिको रक्षाको पक्षमा छौं ।

विधिको रक्षा गर्दै नेकपा एमालेको रक्षा चाहेको बताए । उनले भने, ‘हामी एकताको रक्षा गर्न चाहन्छौं । विभाजन त्यसकारण हामीले नचाहेको हो । त्यसले गर्दा हामीले अन्तरसंघर्ष भनेका हौं । बाहिरबाट हेर्दा न विभाजन न आत्मसमर्पण भन्ने कुरा अलि गहिराइमा हेर्दा नबुझिए पनि यसको मर्म एकता नै हो । यो प्रक्रियामा के भएको छ भन्दा म कमरेडहरूसँग प्राइभेट्ली भन्छु, हामीभित्रकै कुरा हो । हामीले संसदीय मर्यादा उल्लंघन गर्‍यौं ।’

उनले आजसम्म एमालेमा आएको दरारको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओलीले लिनुपर्नेमा जोड दिए । उनले भने, ‘संसदमा उपस्थित नहुने, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि दस्तखत गर्ने, मुद्दा मामिलामा सँगै जाने अवस्था समेत आयो । यस हिसाबले आज एमाले एक ठाउँमा छैन, भर्चुअल्ली पार्टी फुटिसकेको छ । पार्टीलाई कमरेड ओलीले त्यो ठाउँमा पुर्‍याइदिनु भएको छ ।

उनले पछिल्लो समय देउवालाई प्रधानमन्त्री बनाउन जाने आफ्नो पक्षको कदमको बचाउ गरे । उनले भने, ‘यसमा धेरैको टिप्पणी छ, धेरैले सोधिराख्नुभएको छ यसको औचित्य के हो भनेर । यो हामीले पार्टीभित्रका सीमा उल्लंघन गरेर मुलुकको संविधान बचाउन खोजेका हौं । सबै कुरा त्याग गरेर, सबै कुरा बलिदान, दाउमा राखेर संविधान र संसद बचाउन खोजेका हौं ।

उनले यी प्रयत्नले यदि संसद जोगिन्छ र संविधान ट्र्याकमा आउँछ भनेर यस्तो कदम चालेको बताए । उनले भने, ‘हाम्रो एकताको हिसाब-किताब गर्दै गरौंला । हामीले आत्मालोचना गरौंला, मूल्यांकन गरौंला, माफी मागौंला, कारवाही भोगेर भने पनि जाउँला । हामी त्यो तत्परताका साथ संविधान र संसद जोगाउनका लागि अगाडि गएका छौं । मुद्दाको हिसाबले बलियो मुद्दा छ, हामीले जित्ने मुद्दा छ ।

उनले प्रभानमन्त्री केपी शर्मा ओलीले सेटिङले मात्र हराउन सक्ने पूर्ववत् जिकिर गरे । उनले भने, ‘सेटिङले मात्र हराउन सक्छ भनेर हामीले अस्ति नै पनि भनेका थियौं । आज पनि पनि त्यो साँचो हो । पहिलो मुद्दामा सेटिङले हार्‍यो । बीचमा दुईटा पार्टीलाई छुट्याउने कुरामा नांगो तरिकाले न्यायाधीशहरू समेत संलग्न भएर हामीलाई विभाजित गरिदिए । यो त्यही षडयन्त्र हो, बाहिरको समेत षडयन्त्रमा कम्युनिष्ट पार्टीलाई फुटाइएको थियो भन्ने कुरामा हामीले राखेर जानुपर्छ ।

उनलेनेकपा एमालेको सारा परिवारलाई ओलीले के गरिरहेका छन् भन्ने कुरा बताउनका लागि समय चाहिएको बताएका छन् । उनले रणनीतिक हिसाबले हाम्रो संविधानको रक्षा गर्ने, रणनीतिक हिसाबले संसदको रक्षा गर्न र राजनीतिक हिसाबले जनतालाई, पार्टी पंक्तिलाई बताउनका लागि पनि केही समय चाहिएकाले देउवालाई समर्थन गर्नुपर्ने ठाउँमा पुगेको बताए ।

उनले भने, ‘हामी घाइते भएका छौं, हाम्रो मुभमेन्टले दुःख पायो, हामीलाई धेरै चोट लागेको छ । तर, हामी अन्तिमसम्म पनि यसको उपचार गर्ने र फेरि कम्युनिष्ट पार्टीलाई एकताबद्ध पार्ने अभियानमा जान्छौं ।