तल्लो तहसम्म विपक्षी दलको गठबन्धन बनाउने काँग्रेसको निर्णय

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १२ जेठ ।

नेपाली कांगेसले कोभिडको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पुरा गर्नका लागि जनतामा आतंक फैलाउने काम गरेको आरोप लगाएको छ। बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले कोभिड १९ संक्रमणको रोकथामभन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको हो।

आफ्ना असंवैधानिक कदमलाई वैधानिकता दिन र राजनीतिक अभिष्ट पुरा गर्नका लागि सरकारले कोभिड संक्रमणको नाममा जनतामा आतंक फैलाउन खोजेको ठहर बैठकले गरेको छ। बैठकपछि संञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै सहमहामन्त्री डा प्रकाशशरण महतले कोभिडका नाममा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धी गर्ने कोसिसमा सरकार अघि बढेको बताए। उनले कोभिड संक्रमितको उपचार सुनिश्चित गर्नुभन्दा पनि संक्रमणको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धी गर्ने सरकारका क्रियाकलापको बैठकले घोर भर्त्सना गरेको बताए।

‘सरकार कोभिड संक्रमणलाई रोकथाम गर्नभन्दा पनि यसका आडमा राजनीति गर्न खोज्दै छ। जनतामा आतंक फैलाउन खोज्दै छ। २ दिनभित्र किनमेल गर भन्ने किसिमका कुराहरु गर्दैछ। सरकारको आशय अहिले पनि अक्सिजन, अस्पताल बेडको सुनिश्चितता संगै दुर्गम गाउँ गाउँमा पिसिआर परीक्षण गर्ने, संक्रमितको उपचार सुनिश्चित गर्नुभन्दा पछि संक्रमणको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धी गर्ने कोशिस सरकारबाट भईरहेको छ। यसको घोर भत्र्सना गरेका छौं। कोभिड महामारीलाई कम गर्नको लागि सार्थक काम गर्न सरकार केन्द्रीत छैन। यो आडमा आफ्नो सत्ता बचाउनका लागि जनतामा आतंक फैलाउने काममा मात्रै सरकार केन्द्रीत छ,’ महतले भने।

साथै, बैठकले आफ्ना भ्रातृ संस्था तथा तल्लो तहका कमिटीलाई विपक्षी दलसँग सहकार्य गर्ने गरी अघि बढ्ने निर्णय पनि गरेको छ। तत्कालका लागि संयुक्त वक्तव्यमार्फत वर्तमान सरकारको विरुद्धमा लाग्ने बताइएको छ। बैठकमा वर्तमान वस्तुस्थितिबारे छलफल भएको नेता अर्जुननरसिंह केसीले बताए।

‘कानुनी लडाइँ कसरी लड्ने र कानुनी प्रक्रियामा कसरी जाने छलफल भयो। जिल्लादेखि वडा तहसम्मका पार्टी संरचनालाई क्रियाशील बनाई अहिलेको सरकारको विरुद्धमा सशक्त जनमत बनाउने बारेमा छलफल भयो,’ केसीले भने, ‘संयुक्त वक्तव्य दिने कार्यमा पार्टी संरचनालाई क्रियाशील बनाउने र विपक्षी दलहरूबिच समन्वय गर्ने निर्णय भएको छ।