विपक्षी गठबन्धनको बैठक सकियो, के भयो छलफल ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १२ जेठ ।

विपक्षी गठबन्धनका शीर्ष नेताहरूको बैठक सकिएको छ। सिंहदरबारस्थित नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा भएको छलफल सकिएको हो।

छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए।

कानुनविद्हरू समेत उपस्थित भएको बैठकमा रिट दायरपछिको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भएको नेताहरूले बताएका छन्। ‘कतिपय परिमार्जन गर्नुपर्ने, कतिपय ठेगान नमिलेको मिलाएको,’ बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘आज टेक्निकल मात्रै हो।’

काँग्रेस नेता रमेश लेखकले रिटमाथिको सुनुवाइमा अदालतमा कसरी प्रस्तुत हुनेबारे छलफल भएको जानकारी दिए। ‘सम्भवतः भोलि या पर्सिदेखि मुद्दामाथि सुनुवाइ प्रारम्भ होला,’ उनले भने, ‘त्यसका लागि कानुनविद्हरूसँग छलफल भयो। हिजो बहुमत सांसदको हस्ताक्षरसहित अदालतमा रिट दायर भएको हो। त्यो विषयमा कसरी अगाडि बढ्ने भनेर नेताहरूबिचमा छलफल भयो।’

लेखकले मुलुक नै नरहने हो कि भन्ने खतरा रहेको भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र र यो संविधानलाई नै समाप्त पार्ने षड्यन्त्र भइरहेको दाबी गरे। प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका दलहरू आगामी रणनीतिका विषयमा छलफल गर्न जुटेका हुन्।