नागरिकता विधेयक खारेज गर्न ओली सरकारलाई विप्लवको चेतावनी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १० जेठ ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रहित विपरित कार्य नगर्न सरकारलाई चेतावनी दिएको छ। सरकारले नागरिकता विधेयक जारी गरेपछि सोमवार विज्ञप्ति जारी गर्दै पार्टीका महासचिव विप्लवले नागरिकता विधेयक फिर्ता लिन माग गरेका छन्।

संविधान जारी गर्दा नै नागरिकता सम्बन्धी कैयौँ प्रावधान त्रुटीपूर्ण रहेको भन्दै विप्लवले सत्ता संकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी बनाउन यो विधेयक ल्याएको बताएका छन्। हरेक नेपाली नागरिकले सहज ढंगले आफ्नो देशको नागरिकता पाउनु जन्मसिद्ध अधिकार भएको उनले बताए।

नागरिकता जस्तो राष्ट्रिय महत्व एवं जनसरोकारको विषयमा निर्णय लिदाँ जनमतलाई बुझ्न र विज्ञहरूको परामर्श लिन आवश्यक हुने विज्ञप्तिमा उल्लेख छ। कसैलाई खुसी पार्नका लागि लिइने यसप्रकारका निर्णयको मूल्य सिंगो देशले चुकाउनु पर्ने भन्दै विप्लवले राष्ट्रहित विपरित ल्याइएको नागरिकता विधेयक खारेज गर्न माग गरेका छन्।