एमाले पार्टीबाटै साधारण सदस्य समेत नरहने गरि निष्कासन भएका ११ नेताहरू

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १० जेठ ।

नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ ।

स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।

नेकपा एमालेले पार्टीको हीतविपरीत कार्य गरेको ठहर गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको सुर्य थापाले बताए । नेपाल १५ वर्षसम्म एमाले पार्टी प्रमुख रहेका नेता हुन् भने खनाल पनि एक कार्यकाल पार्टी अध्यक्ष भएका व्यक्ति हुन्।

पार्टी सदस्यबाटै निष्कासन गरिएका नेताहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणीकुमारी खड्का रहेका छन् । पार्टीविरुद्ध गतिविधि गरेकोमा सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले पार्टीबाटै निष्कासन गर्ने निर्णय गरिएको छ ।

पार्टीको निर्देशनविपरीत कार्यकर्ता भेला गरेको भन्दै नेता नेपाल, रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई चैत्र १० गते ६ महिनाका लागि निलम्बन गरिएको थियो । तर पार्टी एकता कायम राख्ने भन्दै वैशाख ३० गते कारवाही फिर्ता लिइएको थियो । राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’विरुद्ध उम्मेदवार खडा गरेको र मतदान गराएको आरोप नेपाल पक्षमाथि लगाइएको छ ।

यसअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन गरी हस्ताक्षर गर्नेमध्ये गोकर्ण विष्ट, पवित्रा निरौला खरेल, गणेश पहाडी र राजबहादुर बुढाले हस्ताक्षर गरेका थिएनन्। यस्तै अघिल्लो पटक हस्ताक्षर नगरेकी कलिला खातुनले भने यसपालि हस्ताक्षर गरेकी छन्।

आफूहरूले बहुमत सांसदको हस्ताक्षर बुझाए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै विपक्षी गठबन्धनका सांसदहरू सर्वोच्च अदालत गएका थिए। सिधा मिडियाबाट