नेपाल समूहका यी ३० सांसदले गरे देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १० जेठ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार मध्यराति प्रतिनिधिसभा विघटन गरेपछि चतार्फी आलोचना भइरहेको छ भने विपक्षी गठबन्धनका सांसदहरु संसद विघटनविरुद्ध रिट हाल्न सोमबार सर्वोच्च अदालत जाँदैछन्। रिट हाल्नका लागि आवश्यक सबै कागजपत्र आइतबार नै जुटाएका उनीहरु सोमबार बिहान सर्वोच्च जान लागेका हुन् ।

यस्तैमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका ३० सांसदहरुले हस्ताक्षर गरेका छन् ।

माधव नेपाल पक्षीय सांसद निरादेवि जैरूले सिंहदरबारमा भएको सांसदहरुको भेलाबाट आज ३० सांसदले हस्ताक्षर गरेको दावी गरिन् । उनले हिजो २१ सांसदले हस्ताक्षर गरेकोमा आज थप ९ सांसदले हस्ताक्षर गरेसँगै सांसदको संख्या ३० पुगेको बताइन् ।

हस्ताक्षर गर्ने सांसदहरुमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, माधव नेपाल, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, पवित्रा निरौला, मुकुन्द न्यौपाने लगायत ३० जना रहेका छन् ।

आज हस्ताक्षर गर्नेमा मेटमणि चौधरी, दिपक प्रकाश भट्ट, नारायण खतिवडालगायत रहेका छन् । यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपतिलाई बुझाइएको हस्ताक्षरमा नेपाल पक्षका २७ सांसदले हस्ताक्षर गरेकोमा यो संख्या अहिले थपिएको हो। अहिले माधव नेपाल पनि सिंहदरबारमा पुगेका छन् भने विपक्षी गठबन्धनका अरु सांसद र शीर्ष नेताहरु पनि सिंहदरबारमा रहेका छन् ।

विपक्षी गठबन्धनका नेताहरुले काँग्रेस सभापति देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतमै बहुमत प्रस्तुत गरेर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिट विपक्षी गठबन्धनले तयार पारेका छन् । रिट आजै दायर हुनेछ।