आमासँगको अनैतिक संबंध बारे बुवालाई भनिदिने भनेपछि दुई बालकको घाँटी रेटेर हत्या गरीएको खुलासा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १० जेठ ।

बारामा दुई जना नाबालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ। हत्या गरेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर बस्नेत २५ वर्षीय फरमुल्लाह अन्सारीलाई पक्राउ गरेको हो। गत मंगलबार कलैया वडा नम्बर ११ स्थित मदरसा सलफिया कन्जल्मको निर्माणाधीन भवनमा दुई जना बालक मृत भेटिएका थिए। बालक दुबै जनाको घाँटी रेटिएको थियो।

बालकहरू रंगपुरका अब्दुलगफार अन्सारीका छोराहरू ९ वर्षीय अमान अन्सारी र ७ वर्षीय उसमान अन्सारी हुन्। सोमबार साँझ करिब ७ बजेदेखि हराइरहेका बालकहरू मंगलबार बिहान मृत फेला परेका हुन्। घटनाको खबरपछि प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम मिश्रको कमाण्डमा ९ सदस्यीय टोली गठन गरिएको थियो।

प्रहरीले घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको टोली खटाएको थियो। डिएसपी मिश्रका अनुसार शव फेला परेको दिन घटनास्थलमा आरोपित फरमुल्लाह अन्सारी पनि उपस्थित थिए। उनी मृतकका काका पर्छन्। तर घटनास्थलमा तालिमप्राप्त कुकुर आउने थाहा पाएपछि घटनास्थलबाट उनी फरार भएका हुन्।अनुसन्धानमा प्रहरीले ५० जनामाथि अनुसन्धान गरेको र पोलिग्राफ समेत गरेर फरमुल्लाहलाई पक्राउ गरेको डिएसपी मिश्रले बताए। मृतक बालकका बुवा अब्दुलगफार अन्सारी तीन वर्षदेखि कतारमा छन्। उनकी श्रीमती, एक दिदी, बहिनी गरी जम्मा पाँच जना रंगपुरमा बस्थे।

केही समयदेखि फरमुल्लाह र भाउजू नाता पर्ने मृतकका आमाबीच घनिष्टता बढेको डिएसपी मिश्रले बताए। आरोपित फरमुल्लाह अन्सारीले छोराहरूलाई नेपालमा छाडेर छोरीहरूलाई मात्रै लिएर भारतमा भाग्न प्रस्ताव समेत राखेका थिए। उनले त्यसरी पटकपटक दबाब दिइरहेका थिए। तर आमाले छोराहरूलाई छाड्न मानिनन्। जसकारण उनीहरूबीचको सम्बन्धमा दुई छोरालाई फरमुल्लाहले बाधकको रूपमा लिएको डिएसपी मिश्रले बताए। त्यसैको रिसमा फरमुल्लाहले आमालाई धम्कीसमेत दिएका थिए।

‘पख तँलाई छोराहरूको घमण्ड छ होइन देखाइदिन्छु,’ आरोपीको धम्कीलाई उदृत गर्दै डिएसपी मिश्रले भने।

त्यसैबीच मृतक बालकहरूले पनि आमा र फरमुल्लाहबीचको सम्बन्धबारे थाहा पाएका थिए। सो कुरा ईदमा घर फर्किन लागेका बुवालाई भनिदिन्छु भनेर फरमुल्लाहलाई भन्ने गरेका थिए।

घटना भएको दिन मृतक आमा माइती गएकी थिइन्। त्यसै मौकामा फरमुल्लाहले बालकलाई फकाएर लगेर हत्या गरेका थिए। प्रहरीका अनुसार फरमुल्लाहले मृतक बालकका आमासँग ऋण समेत लिएका थिए।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको बताएको छ।