ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १० जेठ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटीको बैठक बोलाएका छन् । प्रधानमन्त्री समेत रहेका ओलीले बालुवाटारस्थित निवासमा सोमबार दिउँसो १२ बजेपछि स्थायी कमिटी बैठक बोलाएका हुन् ।

बैठकमा संसद विघटन र मध्यावधि निर्वाचन घोषणाविरुद्ध विपक्षी गठबन्धनको कसरत र पार्टीको आन्तरिक विवादबारे छलफल हुने एक नेताले जानकारी दिएका छन् ।

यसअघि ८ जेठमा बसेको स्थायी कमिटीले माधव नेपाल पक्षका ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई सोमबार बिहानसम्म स्पष्टीकरण बुझाउन भनिएको थियो ।

स्पष्टीकरण बुझाउन भनेर दिइएको समयअवधि पूरा भएकाले सोमबारको स्थायी कमिटीको बैठकले थप निर्णय लिन सक्ने अनुमान छ । यता नेपाल–खनाल पक्षले भने ओलीलाई स्पष्टकीकरण नबुझाउने भएको छ । एमालेले खनाल–नेपाल समूहका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन अस्ति पत्र पठाएको थियो ।

पार्टीको नवौं महाधिवेशनपछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर स्वयम् आफू नै अवैध भइसकेको व्यक्तिलाई आफूहरुले स्पष्टीकरण बुझाइरहन आवश्यक नरहेको खनाल–नेपाल समूहका नेता भीम रावलले टिप्पणी गरेका छन् ।

‘स्वयम् केपी शर्मा ओली एमालेको अवैध अध्यक्ष भइसक्नु भएको छ । कार्यकर्ताको मनोबल गिराउने र एकपछि अर्को असंवैधानिक कदम अघि बढाउने काम पटक–पटक गरिरहनु भएको छ’ नेता रावलले भने, ‘अवैध अध्यक्षले सोधेको स्पष्टीकरण दिइरहनु पर्ने आवश्यकता छैन र हामी स्पष्टीकरण पनि दिँदैनौं ।