अक्सिजन नपाएर जनता छट्पटिइरहेका बेला कसरी भोट माग्न जाने ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १० जेठ ।

काँग्रेस नेता प्रकाशमानसिंहले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति निन्दा गरेका छन् ।

कोरोना महामारीका बेला देशको प्राथमिकता जनताको जीवन रक्षा हुनुपर्नेमा मध्यरातमा संविधान र लोकतन्त्रमाथि प्रहार भएको भन्दै सिंहले त्यसो गर्नेलाई नेपाली जनताले क्षमा नगर्ने चेतावनी दिए । कसैको सनक र अहंकारको मूल्य देशले चुकाउन नसक्ने उनको भनाइ छ ।

‘नेपाली जनता कोरोना महामारीमा रहेका बेला देशको प्राथमिकतामा ती जनताको जीवनरक्षा गर्ने हुनुपर्थ्यो । तर, एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा मध्यरातका कूकृत्यले उदांगो पारेको छ’। सिंहले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘अक्सिजनको सिलिन्डर खोजिरहेका, अस्पतालमा शैय्या अभावमा छट्पटाइरहेकाहरूको जीवन रक्षालाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा गर्ने छैनन् ।’

जनताले ५ वर्षका लागि निर्वाचित गरेको संसद भंग गरेर महामारीको बेलामा जनताको जीवन बचाउन होइन मत माग्न जाउँ भन्नू कुन मानवीयताले दिनसक्छ भन्दै उनले प्रश्न गरेका छन् ।

प्रधानमन्त्री र राष्ट्रपतिको योजनाबद्ध षडयन्त्रबाट संसदमाथि प्रहार गरेर संविधान, लोकतन्त्र र परिवर्तनका एजेन्डाहरूलाई समाप्त गर्न खोजिएको घटनाको जति भत्सर्ना गरेपनि कम नै हुने सिंहको भनाइ छ ।