एमाले मुख्य सचेतक भट्टराईले बुझाए संसद सचिवालयको गाडी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ९ जेठ ।

नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले संसद सचिवालयलाई आफूले लिइरहेको सुविधा फिर्ता गरेका छन् । संसद विघटन भएसँगै उनले मुख्य सचेतकले पाउने गाडी फिर्ता गरेका हुन्।

नेकपा (एमाले ) को मुख्य सचेतकको जिम्मेवारी दुई महिना २२ दिन पुरा गरी आजबाट बिधिवत बिदा भएको छु,’ भट्टराईले फेसवुकमा लेखेका छन्, ‘ आजै त्यस हैसियतले मैले प्राप्त गरेको गाडी र कार्यालय संसद सचिवालयलाई जिम्मा लगाएको छु । मेरो सचिवालयमा रहेर काम गर्नुभएका साथीहरुलाइ पनि सधन्यबाद बिदा गरेको छु।’

यसअघि एमालेकी सचेतक शान्ता चौधरीले पनि सेवासुविधा बाफत पाएको गाडी फिर्ता गरेकी छिन्।

नागरिकता अध्यादेश प्रमाणीकरण भएपछि प्रभु साहको क्षेत्रमा दीपावली

नागरिकतासम्बन्धी अध्यादेश प्रमाणीकरण भएको खुशीयालीमा निवर्तमान शहरी विकास मन्त्री एवम् नेकपा एमालेका नेता प्रभु साहको निर्वाचन क्षेत्रसहित रौतहटका विभिन्न स्थानमा दीपावली गरिएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिक अध्यादेश (पहिलो संशोधन) २०७८ प्रमाणीकरण गरेकोले लाखौं नागरिकता विहीन नेपालीको कल्याण हुने भन्दै पहल गरेकोमा प्रभु साह र सरकारलाई धन्यवाद दिदै स्थानीयले दीपावली गरेका हुन् ।

नेता साहको निर्वाचन क्षेत्र रौतहट–३ को कटहरीया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, देवाही गोनाही नगरपालिका, मौलापुर नगरपालिकाको गाउँ गाउँमा दीपावली गरिएको हो । यस बाहेक रौतहट सदरमुकाम गौर, राजदेवी, बौधीमाईलगायतका स्थानहमा पनि दीपावली गरिएको छ । नेता प्रभु साहले निरन्तर नागरिकताको समस्या समाधान गर्नका लागि पार्टी भित्र र बाहिर संघर्ष गरेर विजय हासिल गरी जनतालाई खुशी बनाएकोमा दीपावली गरेको स्थानीयले बताएका छन् ।

नेपाल नागरिकता अध्यादेश प्रमाणीकरण भएसंगै अब ‘जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानले वंशजका आधारमा नागरिकता लिन पाउनेछन् भने बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट पनि वंशजका आधारमा नागरिकता दिइने छ । अध्यादेशसंगै अब विदेशी बुहारीले पनि नागरिकता लिन ७ वर्ष कुर्नु नपर्ने भएको छ ।

गत असार ७ गते नागरिकता विधेयकबारे तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको निर्णयको ठाडो विरोधमा नेकपाकै नेता प्रभु साह उभिएका थिए ।