सस्तो मूल्यमा गाउँगाउँसम्म हाई स्पिड इन्टरनेट पुर्‍याउने चौधरी ग्रुपको घोषणा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ९ जेठ ।

चौधरी ग्रुपले देशका ग्रामीण क्षेत्रसम्म हाई स्पिड इन्टरनेट सेवा पुर्‍याउने घोषणा गरेको छ । टेकपानाले शनिबार आयोजना गरेको दूरसञ्चार नीतिगत बहस श्रृङ्खलाको कार्यक्रममा बोल्दै सीजी टेलिकमका प्रबन्ध निर्देशक निर्वाण चौधरीले निकट भविष्यमा सेवा सुरु गरे देशभर विस्तार गर्ने जानकारी दिएका हुन् ।

‘हामीलाई टेलिकम क्षेत्रमा आउन नदिए पनि एफटीटीएच तथा इन्टरनेट सेवाप्रदायकको रुपमा काम गर्ने लाइसेन्स हामीसँग छ । त्यसैले नै निकट भविष्यमा हामी सीजी नेट सुरु गर्दैछौं,’ उनले भने, ‘त्यसका लागि अहिले हाम्रो ब्याकबोन पूर्वाधार पनि तयार भइरहेको छ । त्यसबाट घरघरमा हामी एफटीटीएच सेवा उपलब्ध गराउने छौं ।’

आफ्नो इन्टरनेट सेवा उदाहरणीय हुने दाबी समेत चौधरीले गरेका छन् । ‘त्यहिँबाट हेर्न सक्नुहुनेछ कि हामी कसरी विश्वस्तरीय सेवा नेपालमा दिनसक्छौं,’ उनले भने, ‘त्यो निकै सस्तो पनि हुनेछ । जति जे गफ दिए पनि वास्तविक स्वाद काममै निर्भर हुन्छ ।