निषेध आदेश पालना गराउन हिँडेको प्रहरी टोलीमाथि आक्रमण

हाम्रो सन्देश संवाददाता

विराटनगर, ९ जेठ ।

विराटनगरमा निषेध आदेश उल्लंघन गर्नेहरुले प्रहरीमाथि आक्रमण गरेका छन्। निषेध आदेशको पालना गर्न आग्रह गर्दै पुगेको प्रहरी टोलीमाथि विराटनगर–१ पुष्पलाल चोकमा शनिबार साँझ ७ बजेतिर प्रहरीमाथि आक्रमण भएको हो।

बारम्बार बन्द गर्न आग्रह गर्दा पनि अटेर गरिरहेको समूह बाँस र भाटा लिएर मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राई नेतृत्वको टोलीमाथि आक्रमणमा उत्रिएको प्रहरीले बताएको छ। प्रहरीमाथि आक्रमण हुन थालेपछि पुष्पलाल चोकको अवस्था केहीबेर तनावग्रस्त बनेको प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।

प्रहरीले आक्रमणमा संलग्नमध्ये पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर–१ की ४० वर्षीया आशा साह, १८ वर्षीया मेनुका साह, २२ वर्षीया अञ्जना साह, १९ वर्षीया उषा साह र अजय साह रहेका छन्।

एसपी खड्काले पक्राउ परेकाहरुमाथि आवश्यक कारबाही अघि बढाउन अनुसन्धान भइरहेको जानकारी दिए। कोरोना तीव्र रुपमा फैलिइरहेको संक्रमण नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनले निषेध आदेश लगाएको छ। निषेध आदेशको समयमा पनि प्रत्येक दिन बिहान ६ देखि १० बजेसम्म तरकारी, फलफूल, दूध, खाद्यान्न लगायत अति आवश्यकीय वस्तु खरिद एवं बिक्री गर्न खुला गरिएको छ।

कोरोना महामारीमा जोखिम मोलेर प्रहरी जनतालाई संक्रमणबाट जोगाउन लागि परे पनि कतिपयले कुरा नबुझिदिँदा र निषेध आदेशको उल्लंघन गर्दा समस्या हुने गरेको एसपी खड्काले बताए। उनका अनुसार कोरोना नियन्त्रणका लागि सडक एवं सार्वजनिकस्थलमा भिडभाड हुन नदिने, बजार पसल तथा सवारी साधन सञ्चालनमा कडाइ गर्ने, मास्क तथा सेनिटाइजर वितरण गर्ने, खुलेआम हिँडडुल गर्नेलाई मास्क लगाउन आग्रह गर्ने काम निषेध आदेशका समयमा प्रहरीले गरिरहेको छ।

मोरङमा कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएपछि गत वैशाख १८ गतेदेखि निषेध आदेश लगाइएको छ। पछिल्लो पटक थप गरिएको निषेध आदेशको अवधि जेठ ११ गतेसम्म रहेको छ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]