देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भने भन्दै किन रिसाए प्रधानमन्त्री

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ९ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई ‘तिमी भनेको’ भन्दै असन्तुष्टि पोखेका छन् ।

‘कांग्रेसमा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नरहेको’ बताउँदै ओलीले ‘सानालाई स्नेह र ठूलालाई आदर सम्मान गर्ने नेपालीको मर्यादा भएको’ पनि उल्लेख गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा ओलीले ‘सभापतिको तहबाट राष्ट्रपतिको सम्बन्धमा बोलिएको भाषामा तिमी, उनी, यसो गरिन्’ सम्बोधन गरिएको टिप्पणी गरे । ‘आज प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरें, राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेन,’ उनले औंल्याउँदै भने ।

राष्ट्रपति भण्डारीले शुक्रबार प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि देउवाले शनिबार विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा उनले राष्ट्रपतिलाई ‘तिमी’ भन्ने भाषा प्रयोग गरेका छन् ।

सोही वक्तव्यलाई लिएर प्रधानमन्त्री ओलीले ‘राष्ट्रपतिमाथि त्यस्तो भाषा बोलिएको’ भन्दै ‘देशलाई अराजकतातिर लान खोजिरहेको’ आरोप लगाए । ‘अरू त चलेकै थियो, नेपाली कांग्रेसका सभापतिको पनि त्यसस्तरको भाषा देखेपछि गणतन्त्र खुइल्याउने अभियानको व्यापकता कहाँसम्मु पुगेछ भन्नेचाहिँ अचम्म लाग्यो,’ उनले थपे ।

प्रधानमन्त्री ओलीले ‘जनताका छोराछोरी सम्मानित पदमा पुगे, सम्मान गर्न हुँदैन भन्ने सोच रहेको’समेत उल्लेख गरे । ‘अचम्म लाग्छ, जसले लोकतन्त्र मान्दैन, लोकतान्त्रिक आचरण मान्दैन, उनीहरू लोकतन्त्रका हिमायती भएर मयूरका प्वाँख जोडेर मयूर भएको नक्कल गर्दै स्वाङ पार्दै छन्,’ उनले भने, ‘देशलाई अराजकता, असभ्यतातिर लान खोजिरहेका छन् । भाषाको हिसाबले, गालीगजौज तथानाम बोलेका छन् ।’

प्रधानमन्त्री ओलीले ‘सामन्तवादप्रतिको दलाली त्यस ठाउँमा एउटा कुलीन घराना जन्मसिद्ध सिद्धान्तको पाखण्ड आधारमा आएको नालायक पात्र राजा नामको कोही हुन्थ्यो भने कस्तो–कस्तो भाषा बोलिन्थ्यो’ भन्दै प्रश्नसमेत गरेका छन् ।

‘त्यहाँ निहुरिएर, हात मुसारेर के–के भाषा बोल्थे यिनै मानिस । आज जनताका छोराछोरी सम्मानित पदमा पुगे सम्मान गर्नुहुँदैन भन्ने सोच छ,’ उनले भने, ‘तपाईं पनि भन्न हुँदैन राष्ट्रप्रमुखलाई भन्छन् ।’ असभ्य तरिकाले बोल्नु, अरूलाई ‘तँ तिमी भन्नु बहादुरी ठान्ने गरेको’समेत ओलीले उल्लेख गरेका छन् ।