फेरि संसद पुनःस्थापना गर्ने प्रचण्डको उद्घोष

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ८ जेठ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि संसद पुनःस्थापना गर्ने घोषणा गरेका छन् ।

शनिबार विपक्षी गठबन्धनको बैठकपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने अवस्था हुँदाहुँदै गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताए ।

उनले विघटनविरुद्ध राजनीतिक र कानुनी रुपमा लडाई लड्ने निर्णय विपक्षी गठबन्धनले गरेको जानकारी दिए । प्रचण्डले गत पुसमा गरिएको संसद विघटन जसरी सडक र कानुनी लडाईंबाट पुनःस्थापित भएको थियो अहिले पनि त्यही अवस्था आउने दाबी गरे ।

प्रचण्डले देउवालाई समर्थन गरेका १४९ जना सांसद नै संयुक्त रुपमा अदालत जाने निर्णय भएको बताए। विपक्षी दलको गठबन्धनपछि उनले भने, ‘हामी विघटनको सशक्त प्रतिवाद गर्छौँ । पहिलो एपिसोड मै देखिएको छ, जनता यसका विरुद्धमा छन्। जसरी देशलाई दुर्घटनातिर लगिएको छ । फेरि संसद पुनःस्थापना हुनेछ ।’

उनले १४९ जना सांसदहरु संयुक्त रुपमा अदालत जाने बताए। दाहाले देउवा र ओली दुवैको दाबी नपुग्ने भनी राष्ट्रपतिबाट मध्यरातिमा भएको निर्णय अपारदर्शी निरंकुश भएको उल्लेख गरे ।

गठबन्धनले कात्तिक र मंसिरका लागि घोषणा गरिएको चुनाव गर्नका लागि नभइ देखाउनका लागि भएको दाबी गरेको छ । ‘चुनाव गर्नका लागि घोषणा गरिएको होइन, असंवैधानिक रुपमा गरिएको चुनावको अर्थ छैन,’ दाहालले भने ।