ओलीले सुरु गरे नेपाल समूहका सांसदमाथि कारबाही, पहिलो चरणमा परे बागमती प्रदेशका १४ सांसद

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ८ जेठ ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल समूहका सांसदलाई कारबाही गर्न सुरु गरेका छन् । ओलीले बागमती प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेर कारबाही सुरु गरेका हुन् ।

बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा पार्टी उम्मेद्वारविरुद्ध मतदान गरेको भन्दै एमाले बागमती प्रदेश संसदीय बोर्डले १४ सांसदलाई स्पष्टीकरण सोधेको हो ।
वागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलको अध्यक्षतामा शनिबार बसेको संसदीय बोर्डको बैठकले अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेसहितका १४ सांसदसँग २४ घण्टे स्पष्टीकरण माग्‍ने निर्णय गरेको हो ।

स्पष्टीकरण सोधिएका अन्य प्रदेश सांसदहरूमा अरुण नेपाल, बसन्त मानन्धर, रचना खड्का, कृष्णप्रसाद शर्मा खनाल, शान्तिप्रसाद पौडेल, मनु सिग्देल, इन्द्रमाया गुरुङ, मिना ज्ञवाली, बसुन्धरा हुमगाई, लक्ष्मण लम्साल, कुसुमकुमार कार्की र पार्वती सिलवाल छन् ।

आफ्नै पार्टीका उम्मेद्वारलाई पराजित गर्न अगुवाई गरेको भन्दै १४ प्रदेश सभा सदस्यलाई आइतबार साँझ ५ बजेसम्म जवाफ बुझाउने समय दिएर स्पष्टीकरण सोध्‍ने निर्णय भएको प्रदेश सभामा पार्टीका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए ।

स्पष्टीकरण पत्रमा लामो समयदेखि संसदीय दल, पार्टी र दलका नेता तथा सरकारविरुद्ध गतिबिधि गरेको र राष्ट्रिय सभा निर्वाचनमा पार्टीलाई हराउन भूमिका खेलेकाले किन कारबाही नगर्ने भन्‍ने प्रश्‍नु सोधिएको निरौलाले बताए । इकागज बाट साभार

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]