कोरोना त्रासले मानसिक समस्या : के छन समाधानका उपाय ?

हाम्रो सन्देश संवाददाता

काठमाण्डौं ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणको नाममा सरकारले देशभर निषेधाज्ञा गरेको छ। यो समयमा आम मानिसलाई एकातिर
रोगको चिन्ता छ भने अर्कोतिर नचाहेरै भए पनि घरभित्रै बस्नुपर्ने बाध्यता छ। कोरोनाको नयाँ प्रजाति नेपालमै पत्ता लागेपछि मानिसमा अझ धेरै तनाव भएको पाइएको छ ।

हुने खानेका लागि घरभित्र बस्नु र महामारीबाट बच्नु सामान्य लाग्न सक्छ। तर, दैनिक ज्यालामजदुरी गरेर छाक टार्नेका लागि रोगभन्दा भोकको चिन्ता ठूलो छ। उनीहरु रोगको त्रासले भन्दा भोकको चिन्ताले तड्पिएका छन्। हुन त मान्छे अनुसार सबैलाई केही न केही पीडा हुन्छ। हुने खानेलाई पनि भविष्यको चिन्ता छ। तर, यो कोरोना महामारी जस्तोसुकै चिन्ताले पनि समाधान हुन सक्दैन। द्वन्द्व, प्राकृतिक विपत्तिसँगै ठूलाठूला महामारीको समयमा हुने चिन्तालाई सामान्यकरण गर्न नसके त्यसको असर लामो समयसम्म पर्ने भएकाले सचेत हुनुपर्छ।

मनोचिकित्सक ऋषभ कोइराला अहिलेको समयमा आफूलाई दह्रो बनाएर अरुलाई पनि सकारात्मक सोच्न र सकारात्मक काममा प्रेरित गर्न सुझाव दिन्छन्। ‘विपतकाे बेलामा र विपतपछि जाे कोहीमा तनाव बढ्नु स्वभाविक हो’, कोइराला भन्छन्, ‘तर त्यो तनावलाई समयमै व्यवस्थापन गर्नु नै अहिलेको आवश्यकता हो।’

डा. ऋषभ कोइराला
कोरोना कहरको समस्या नेपालको मात्र होइन। विश्वका शक्ति राष्ट्रहरुसमेत महामारीसँग जुधिरहेका छन्। अहिले विश्वभरी नै कोरोना कहर चलिरहेको छ। अघिल्लो वर्ष भन्दा यो वर्ष कोरोनाको असर नेपालमा बढी देखिएको छ। महामारीको त्रास एकातिर छ। उपचार नपाउने र आफन्तलाई गुमाउनुपर्दाको पीडा एकसाथ भोग्नु परेको छ। यो त्रास भोग्नु पर्यो भनेर आत्तिएर भइहाल्ने केही होइन। हामीले अरु देशमा के भइराखेको छ र उनीहरु कस्तो संकटको सामना गरिराखेका छन् भन्ने कुरालाई पनि हेर्नुपर्छ।

कोरोनाको उत्पत्ति भएको भनिएको चीन, संक्रमण फैलिएर भयावह अवस्थामा पुगेका इटली, बेलायत लगायतका देश यत्तिबेला सामान्य जीवनमा फर्कने कोसिस गरिरहेका छन्। आजको त्रासबाट मुक्त भएर हामी पनि सामान्य जनजीवनमा फर्किन सक्छौँ भन्ने एउटा आत्मविश्वास हुनैपर्छ।

कोरोना संक्रमित दिनहुँ बढिरहेको, मृत्यु हुनेको संख्या पनि उकालो लागिरहेको अवस्थामा अब भविष्य के होला भनेर चिन्ता लाग्नु, आत्तिनु, निराश हुनु सामान्य कुरा भएको कोइरालाको भनाइ छ। यो मानवीय स्वभाव पनि हो। महामारी, भूकम्प, बाढी-पहिरो जस्ता प्राकृतिक विपत्तिपछि मानिसमा मानसिक, आर्थिक, धार्मिक लगायतका समस्याले पीडा दिएको देखिन्छ। तर, यो विपत्ति केही समयको लागि हो विस्तारै हराएर सामान्य जीवनमा फर्कन सकिन्छ भनेर हामीले सोच्न पर्नेमा उनको जोड छ।

कोरोना महामारीको पीडाकै कारणले मानिसमा एङजाइटी, चिन्ता र उदासिनतालगायत मानसिक स्वास्थ्य समस्या देखिन थालेको अर्का मनोचिकित्सक शालिग्राम भट्टराई बताउँछन्।

‘विद्यालय, कलकारखाना सबै बन्द छन्, अहिले कोरोनाबाट बच्न घरभित्रै बस्नुको विकल्प छैन। घरभित्रै बस्नुपर्दा, परीक्षा रोकिँदा एवं साथी भाइसँग भेट्न नपाउँदा बालबालिका र अभिभावकलाई तनाव महसुस हुनसक्छ’, मनोचिकित्सक भट्टराई थप्छन्, ‘बालबालिका मात्र नभई जुनसुकै उमेर समूहलाई भएको तनाव सबै मिलेर व्यवस्थापन गर्नु आवश्यक छ। यसका लागि अभिभावकले बालबालिकालाई विशेष समय दिनुपर्छ। उनीहरुका कुरा सुन्ने, सँगै खेल्ने र उनीहरुसँग रमाउन सक्नुपर्छ। अरुले पनि आफ्ना कुरा परिवारसँग साट्ने र रमाउने गर्नुपर्छ।

डा. शालिग्राम भट्टराई
तनावबाट कसरी बच्ने ?
महामारीको समयमा एउटा कारणले मात्र नभएर मानिसलाई विभिन्न कारणले तनाव भइराखेको हुन्छ। मानसिक अवस्थासँगै पारिवारिक, आर्थिक, सामाजिक, धार्मिक अवस्थाले पनि असर गरेको हुन्छसक्छ। मानसिक तनावलाई हाम्रो समाजमा नकारात्मक ढंगले हेरेको पाइन्छ। जब मानिसको दैनिकीमा अवरोध हुन्छ तव टाउको दुख्ने, निन्द्रा नलाग्ने, खानामा अरुची हुने, रिस उठ्ने समस्या आइपर्छन्। सामान्य लागे पनि निरन्तर एउटै पीडा दोहोरिएमा त्यसको असर विस्तारै-विस्तारै देखिँदै जान्छ। शरीरलाई आराम चाहिए जस्तै दिमागलाई पनि आराम आवश्यक हुन्छ। मानसिक आरामका लागि निन्द्रा सबैभन्दा महत्वपूर्ण हुन्छ। पर्याप्त पानी पिउने र दिनमा ८ देखि १० घण्टा सुत्न सकेमा मात्र पनि मानसिक पीडाबाट मुक्त हुन सक्ने सुझाव मनोचिकित्सकको छ।

इन्टरनेट र सामाजिक सञ्जालमा मिनेटमिनेटमा अपडेट हुँदासमेत कतिपय मानिसमा तनाव बढ्ने गरेको पाइन्छ। महामारीको समयमा आवश्यक सूचना लिनुपर्छ तर घरमा बस्दा फुर्सद भयो भनेर २४ घण्टा संक्रमित बढेको, उपचार नपाएको, मृत्यु भएको र मृतकका तस्बिर राख्दै श्रद्धाञ्जली दिएका कुरामात्र हेर्नु गलत हुने मनोचिकित्सकको भनाइ छ।

आइसोलेशनमा बस्दा पनि संक्रमितले सकारात्मक कुरा सोच्ने, सामाजिक संजालको प्रयोग नगर्ने, प्रेरणा मिल्ने पुस्तक अध्ययन गर्ने, गीत गाउँने, नाच्ने, रमाइलो गर्न सक्छन्। यसैगरी आफ्नो स्वास्थ्य अवस्थाबारे चिकित्सकलाई जानकारी गराउने, आवश्यक परेको खण्डमा अस्पताल जानुपर्छ।

सही सूचनाले सावधानीलाई साथ दिनसक्छ। तर, कतिपय अवस्थामा त्यो सूचना बिरामी अर्थात् संक्रमितका लागि आवश्यक नहुन पनि सक्छ। एउटा बिरामीका लागि नयाँ सूचना भन्दा पनि उसलाई उत्साह दिने कुरा शेयर गर्नु चाहिँ ठूलो औषधि बन्न सक्छ।

तनाव जुनसुकै उमेर समुहका मानिसमा हुनसक्छ। आफूलाई के कुराले तनाव दिइरहेको छ, त्यो कुरा अरुसँग साट्ने र समस्या समाधानको लागि छलफल गर्ने गर्नुपर्छ। अरुबाट भन्दा तनावको समाधान आफैंले गर्न सकिन्छ। त्यसका लागि तालिका बनाएर लकडाउनअघि आफूले गर्ने कामलाई नै गर्ने, त्यो सम्भव नभए आफूलाई मनपर्ने सिर्जनात्मक काम गर्ने।

सिर्जनात्मक काममा कोठा सजाउने, साथीको लागि उपहार कार्ड बनाउने, हस्तकला तथा सजावटका सामानहरु बनाउन र सीप सिकाउन सकिन्छ। यस्ता रचनात्मक कामका लागि यूट्यूवको सहयोग लिन सकिन्छ। भान्साको काम गर्ने, लेखपढ गर्ने भए गीत, कथा, कविता, निबन्ध तथा दैनिक डायरी लेख्ने। लेखपढ नगर्ने भए नाचगान गरेर दैनिक एउटा समयमा रमाउन सकिन्छ। चित्र बनाउने, रङ भर्ने, योग, ध्यान, प्रार्थना, व्यायाम गर्ने, घरभित्र खेल्न सकिने खेलहरु खेल्ने गरेमा पनि तनावबाट मुक्त हुन सकिन्छ।

जस्तोसुकै परिस्थिति आए पनि त्यसको सामना गर्नुबाहेक हामीसँग विकल्प हुँदैन। अप्ठेरो समय सधैँका लागि होइन भनेर आफूलाई विश्वासिलो बनाउन सक्नुपर्छ। घरमा बस्न पाउनुलाई खुसीको समय ठानेर परिवारसँग रमाउने र सिर्जनात्मक काममा उपयोग गर्न सकिन्छ।

बिरामीलाई हौसला दिने
कोरोना भाइरसको संक्रमण पुष्टि हुने बित्तिकै संक्रमित र उसको परिवारलाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ। यो संक्रमित भयो अब हामीलाई पनि सार्छ भनेर नबोल्ने, उसको घरतर्फ नै नफर्कने, बाटो नै फेर्ने गरेको पनि पाइन्छ। यसले संक्रमित र उसको परिवारमा पर्ने मानसिक समस्याबारे सबैले ख्याल गर्नुपर्छ। आज ऊ संक्रमित भयो, भोलि हामीलाई पनि हुनसक्छ भनेर सोच्नुपर्छ र सहयोग गर्नुपर्छ।

प्रत्यक्ष रुपमा सहयोग गर्न नसके संक्रमितको परिवार र संक्रमितलाई फोन गरेर उनीहरुको स्वास्थ्य अवस्थाबारे बुझ्नुपर्छ। नआत्तिनुहोस् हामी छौं, के चाहिन्छ हामी ल्याइदिन्छौं भनेर उनीहरुको आत्मबल बढाउनुपर्नेमा मनोचिकित्सकले जोड दिएका छन्।

महामारीको समयमा के गर्ने के नगर्ने ?

-सकेसम्म सामाजिक सञ्जाल नचलाउने ।-सामाजिक सञ्जाल चलाइहाले सकारात्मक कुरा मात्र शेयर गर्ने ।-कोभिड जितेका सफलताका स्टोरी पढ्ने र अरुलाई सुनाउने ।-रुटिन बनाएर काम गर्ने ।-दैनिक व्यायाम गर्ने ।-राति समयमा सुत्ने र बिहान समयमा उठने, दिनभर नसुत्ने ।-नयाँ कुरा सिक्ने मौका हो भन्ने ठान्ने र नयाँ नयाँ कुरा सिक्ने ।

-घरमा बस्दा परिवारसँग रमाउने ।-घरमा बगैंचामा काम गर्ने, त्यो नभए घरको छतमा फूल रोप्ने वा बगैंचा बनाउने ।-सतर्क हुने तर रोग लाग्ने बित्तिकै मरिन्छ भनेर नडराउने ।-संक्रमण हुनु अघि र भइसकेपछि हेलचेक्रर्‍याई नगर्ने ।-अरुलाई सहयोग गर्ने, जसले सकारात्मक सोचको विकास हुन्छ ।

-समस्या भए अरुसँग साट्ने, समस्या शेयर गर्दा पीडा कम हुन्छ ।-के गर्दा तनाव कम हुन्छ त्यो गर्ने ।-तनाव कम हुन्छ भनेर नकारात्मक क्रियाकलापमा नलाग्ने ।-डराएर नबसौँ, समस्या थाहा भएपछि केही न केही समाधान निस्कन्छ।-आफूले समाधान गर्न नसके चिकित्सको सुझाव लिने।-अनलाइनको माध्यमबाट चिकित्सकसँग सम्पर्कमा बस्ने।-चिकित्सकले दिएको सुझाव अनुसार औषधि खाने।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]