प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्‍को आकस्मिक बैठक

हाम्रो सन्देश संवाददाता

काठमाडाैं, ७ जेष्ठ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ ७ बजे मन्त्रिपरिषद्‍को आकस्मिक बैठक बोलाएका छन्।

संविधानको धारा ७६ को उपधारा (५) अनुसार नयाँ सरकार बन्ने प्रक्रिया चलिरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्‍को बैठक बोलाएका हुन्।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाइएको बैठकका अजेन्डा भने मन्त्रीहरुलाई भनिएको छैन। शुक्रबार प्रधानमन्त्री ओली र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि दाबी गरेका छन्।

दुवैको दाबीलाई लिएर शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले आन्तरिक परामर्श गरिरहेकी छन्।

सांसदको हस्ताक्षरबारे एमाले कार्यदल बैठकमा माधव पक्षकै दुईथरी मत

नेकपा एमालेको विवाद मिलाउन गठित वार्ता टोलीको बैठक शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको बारे माधव नेपाल पक्षका सदस्यहरुकै दुईथरी मत आएपछि मुख्य एजेण्डामा छलफल नै नभई टुंगिएको छ ।

करीव डेढ घण्टाको छलफल पार्टीको अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन आफ्नै सांसदले हस्ताक्षर गरेको कुरा उठेपछि त्यसमै केन्द्रित रहेको वार्ता टोली संयोजक सुवास नेम्वाङले बताए ।

नेम्वाङका अनुसार वार्ता टोलीमा रहेका सुरेन्द्र पाण्डे,घनश्याम भुसाल र गोकर्ण विष्टले देउवालाई प्रधानमन्त्री बनाउन आफूहरुले हस्ताक्षर नगरेको बैठकमै जानकारी गराएका थिए । माधव नेपाल पक्षका वार्ता टोली संयोजक भीम रावलले भने संसदको विघटन रोक्नका लागि हस्ताक्षर गरिएको जवाफ दिएका थिए ।
रावलको भनाइ उदृत गर्दै एक वार्ताकारले भने–शेरबहादुरलाई प्रधानमन्त्री नबनाई संसद विघटन रोक्न नसकिने भइयो,त्यसैले हस्ताक्षर गरेका हौं । प्रधानमन्त्रीको नियत संसद विघटन गर्ने देखियो र उहाँको नियत पार्टी एकताको पक्षमा पनि देखिएन ।

मुख्य एजेण्डामा खासै छलफल हुन नसकेपछि अर्को बैठक आपसी समझदारीमा तय गर्ने गरि आफूहरु उठेको नेम्वाङले बताए । यसबीचमा आफ्ना आन्तरिक छलफल र गृहकार्य हुने उनले जानकारी दिए ।

माधव नेपाल विपक्षी गठबन्धनमा लागिसकेको र नेपाल पक्षका कतिपय सांसदले हस्ताक्षर दुरुपयोग भयो भनिरहेको सन्दर्भमा अब वार्ता टोलीको अर्को बैठक नबसी भंग हुन सक्ने सम्भावना पनि रहेको नेताहरुले बताएका छन् ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]