सरकारले संसद विघटन गर्न खोजेको कांग्रेस नेता पाैडेलकाे आराेप

हाम्रो सन्देश संवाददाता

काठमाडाैं, ६ जेष्ठ ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले संसद विघटन गर्न खोजेको आरोप लगाएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका लागि आह्वान गर्नुले सरकार संसद विघटन गरेर संविधान फाल्ने षडयन्त्र रहेको दाबी गरेका हुन् । सामाजिक सञ्जालमा प्रतिकृया दिंदै पौडेलले भनेका छन् – ‘राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइकन संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो ।’

सरकार गठनका लागि सामानयतया कम्तिमा पनि ३ दिनको समय दिने प्रचलन विपरित २४ घण्टाभन्दा पनि कम समय दिएर सरकार गठनको आह्वान गर्नु गलत भएको उनको भनाइ छ । ‘सामान्यतया नयाँँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन हो । तर एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केहि हुन सक्दैन् ।’ उनले भनेका छन् ।

यो अवस्थामा संविधान जोगाउने प्रयासमा सबै लाग्न आग्रह गर्दै बरिष्ठ नेता पौडेलले भनेका छन् ‘यो अवस्थामा सम्पुर्ण राजनीतिक दलहरुलाई नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान जोगाउने प्रयासमा लाग्न हार्दिक अपिल गर्दछु ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]