रामकुमारी भन्छिन्– अन्यायको विरुद्ध विद्रोह निश्चित छ

हाम्रो सन्देश संवाददाता

काठमाडाैं, ६ जेष्ठ ।

विवाद समाधनाका लागि कार्यदल बनाएर अघि बढेको नेकपा (एमाले)मा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनले झनै विवाद थपेको छ । वाग्मती प्रदेशअन्तर्गत भएको उपनिर्वाचनमा गठबन्धनका उमेदवार विजयी भए । एमालेका मतदाताले नै आफ्ना उमेदवार रामबहादुर थापा ‘बादल’लाई मत नदिएको एमालेको निष्कर्ष छ ।

आजै दिउँसो बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपाल पक्षले मतदान नगरेको कुरालाई गम्भीर रुपमा लिने निर्णय गरेको छ । एमालेका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार भोट नहाल्ने र उमेदवारका बारेमा भ्रम फैलाउनेहरुको बैठकले भर्त्सना गरेको हो ।

एमाले नेता नेपालले भोट माग्न कोटेश्वर पुगेका बादललाई मत नदिने जवाफ दिएका थिए । एमालेको पक्षमा बलियो मत रहे पनि बादल पराजित भएका हुन् ।

त्यसो त वरिष्ठ नेता झलनाथ खानल र नेता नेपाल समूहले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्मा विश्वासको मत नदिन बैठक बहिस्कार गरेको थियो । उक्त समूहका सांसदहरुले राजीनामा नै दिने तयसमेत गरेका थिए ।

एमालेको खनाल–नेपाल समूहकी सांसद रामकुमारी झाँक्रीले संसद् सदस्यबाट राजीनामा दिन तयार भएको पक्षलाई राष्ट्रियसभामा भोट कसलाई हाल्ने भन्ने प्रश्न समान्य विषय रहेको प्रतिक्रिया दिएकी छन् । उनले आज फेसबुकमार्फत आफूहरु पार्टीभित्रै एउटा स्पेसका लागि संघर्षरत रहेको भन्दै परिस्थितिमा कुनै बदलाव नआएको बताएकी छन् ।

अध्यक्ष ओलीको अहंकार उस्तै रहेकाले विद्रोह यथावत् रहेको उनको भनाइ छ । “संसद् सदस्यबाट नै राजीनामा गर्न तयार हामीहरूलाई राष्ट्रियसभामा कसलाई भोट हाल्ने ? यो प्रश्न हाम्रो लागि मामुली प्रश्न हो । तर, अहिले पार्टीभित्रै एउटा स्पेसका लागि संघर्षरत अवस्थामा छौं । पार्टीभित्रको परिस्थितिमा कुनै बदलाव आएको छैन । अहंकार उस्तै छ । अन्यायको विरुद्ध विद्रोह निश्चित छ । डा. देवकोटालाई बधाई,” उनले लेखेकी छन् । बाह्रखरी बाट साभार