अब के होला बादलको राजनीतिक भविष्य ?

हाम्रो सन्देश संवाददाता

काठमाडाैं, ६ जेष्ठ ।

राम बाहादुर थापा बादल अर्थात् कुनै समय माओबादी आन्दोलनको एक खम्बा थिए । जनयुद्धमा फौजी योजनाकार रहेका उनी आज निरन्तर कमजोर हुँदै गइरहेका छन । आज बादल आफुले खनेको खाल्डोमा आफै पुरिन पुगेका छन् । थापाले चितवनको रामपुर स्थित कृषि तथा वन विश्वविद्यालयबाट कृषिमा स्नातक हासिल गरेका थिए। २, ४ र ६ वर्षे कार्यकालको लागि भएको गोलाप्रथामा उनी राष्ट्रियसभाका ५९ सदस्य मध्ये भाग्यमानी सावित भए भने ६ वर्षे कार्यकाल तानेका थिए । तर जेठ ६ गते बिहिबार त्यहि ठाउमा उपनिर्वाचन भयो जहाँबाट उनी बिजयी भएका थिए ।

उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेकोमा प्रदेश सभा सदस्यतर्फ १०५ जना र स्थानीय तहतर्फ २३३ जना गरी जम्मा ३३८ जनाले मतदान गरेका थिए । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तह सदस्य तर्फको मतभार १८ हुन्छ । निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र विपक्षी गठबन्धनबाट खीमलाल देवकोटा प्रतिस्पर्धामा थिए भने नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ पनि प्रतिस्पर्धामा थिए ।

साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको कलह र प्रचण्ड-माधब समुह र ओली समुह मध्ये विभाजनमा बादलले ओलीलाई रोजेका थिए । तर २३ फागुनमा सर्बोच्च अदालतको फैसलाले नेकपाको एकता प्रक्रिया भंग गर्दै एमाले र माओवादी केन्द्र बादल सहित केही नेताहरू माओवादीमा फर्किएनन र उनीहरुलाई माओवादी केन्द्रले कारवाही गरेपछि पदमुक्त भएका थिए । ६ वर्षे कार्यकालको गोला तानेर पनि तीन वर्षमै बादल फेरि सोही पदका निम्ति मैदानमा गए र त्यो पनि गुमाए । एमाले माओबादी मिल्दा पहिले सहजै जितेको उनी अहिले आफ्नै कारणले रिक्त भएको स्थानमा निर्वाचित हुन सकेनन्।

२०३७ देखि भूमिगत राजनीतिमा होमिएका उनी दशवर्षे माओवादी युद्धका प्रमुख योजनाकारमध्येका एक थिए । उनले अमिक शेरचनबाट कम्युनिस्ट पार्टीको सदस्यता ग्रहण गरेका थिए। उनी प्रचण्डसँगको सहकार्यमा राजनीतिमा प्रवेश गरेका थिए। प्रारम्भिक चरणमा बीचमै पढाई छाडेर सोभियत सङ्घबाट फर्किए पछि, उनी भूमिगत राजनीतिमा लागेका थिए। बि.स. २०६९ मा माओबादी विभाजन हुँदा उनी मोहन बैद्यमा गए भने फेरी ७३ मा माओवादीमा फर्किए । एमाले-माओबादी एकताको सरकारमा पार्टीको नेतृत्व गर्दै सरकारमा जाने अवसर पनि उनैले पाएका थिए । अहिलेको उपनिर्वाचनमा वागमती प्रदेशसभा र स्थानीय सरकारमा एमालेको वर्चश्व छ ।

११० मध्ये ५६ प्रदेश सदस्य र ११९ स्थानीय तहमा १३३ पदाधिकारी एमालेका छन् । यो जोड्दा एमाले एक्लै बिजयी हुन्छ। तर एमाले पार्टीभित्रको केपी-माधब समुह कलहले उनलाई नराम्ररी पराजित हुन् बाध्य पार्यो। उता एमालेले पार्टीको उम्मेदवारको विपक्षमा मत दिनुलाई गम्भीरतापूर्वक लिएको बताउँदै पार्टीको आधिकारिक उम्मेदवारको विपक्षमा मतदान गरेको भन्दै भर्त्सना गरेको छ । यता आफैंले रोजेको मध्यावधि परीक्षणमा आफु फेल हुनु र सर्वोच्च अदालतले पुर्व माओबादीबाट एमाले भइ सांसद नरहेको भन्दै उनीसहित ७ जना मन्त्रीलाई पदमुक्त गरेपछि बादल आफ्नो राजनीतिक भविष्यलाई लिएर चिन्तित छन् ।

कुल मतभार ९५६४ मध्ये एमाले एक्लैको ५०८२ मत छ भने कांग्रेसको २२८० ,माओवादीको १६९८ मत छ । राप्रपाको १३२ मत, नेमकिपाको १३२ मत छ । रोचक त के छ भने राप्रपाको मत पनि बादललाई छ भने नेमकिपाले आफ्नै उमेदवार उभ्याएको छ। तर बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित भएका छन् । खिमलाल देवकोटाले ५०८८ मतभार पाएका छन् भने बादलले ४०१४ मतभार पाएका छन्।

बिहिबार नै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्व संघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एक पटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको थियो । उपनिर्वाचनको नतिजा र सर्बोच्चको निर्णयले बादलको राजनीतिक भविष्यमा ठुलै धक्का दिएको विश्लेषण राजनीतिक वृतमा गरिएको छ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]