राष्ट्रिय सभाको उपनिर्वाचन सम्पन्न, कति मत खस्यो ?

हाम्रो सन्देश संवाददाता

काठमाडाैं, ६ जेष्ठ ।

राष्ट्रियसभाको उपनिर्वाचनको मतदान सम्पन्न भएको छ। हेटौंडा-४ स्थित भुटनदेवी उमाविमा बिहान ९ बजेबाट सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ बजे सकिएको हो। तोकिएका दिउँसो ३ बजेसम्मको अवधिमा ९७.४० प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रदेशतर्फ एकसय नौमध्ये एकसय ५ मत खसेको छ। जसमध्ये विवेकशील साझाको तीन मत र माओवादी केन्द्रको एक मत नखसेको हो। विवेकशीलले मतदान प्रक्रिया बहिष्कार गरेको थियो। माओवादी केन्द्र दोलखाकी सांसद हिमाली गोल मतदान प्रक्रियामा सहभागी भइनन्।

स्थानीय तहतर्फ कूल दुईसय ३८ मध्ये पाँचजना जनप्रतिनिधिहरुले मतदान गरेनन्। दोलखा मलुङ गाउँपालिका उपाध्यक्ष कल्पना भण्डारी, भक्तपुर नगरपालिका मेयर सुनिल प्रजापति, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याङ्जेन शेर्पा र उपाध्यक्ष कोपिल पण्डित तथा धादिङको खनियाँबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले मतदान प्रक्रियामा सहभागी भएनन्।

मतदान प्रक्रियामा सहभागी नहुनेमा कांग्रेसको तीन, नेकपा एमाले र नेपाल मजदुर किसान पार्टी एक/एक मत रहेको छ। वाग्मती प्रदेश सदस्य एकसय नौजना र प्रदेशतर्फ दुईसय ३८ गरी कूल तीनसय ४७ मतदाता रहेका थिए। एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछ रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो।

उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार गृहमन्त्री थापा, स्वतन्त्र उम्मेदवारका रूपमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ उम्मेदवार रहेका छन्। देवकोटा स्वतन्त्र उम्मेदवार भए पनि उनलाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा एमालेको माधव नेपाल-झलनाथ खनाल समूहको सहयोग छ।

प्रदेशतर्फ एक मत बराबर ४८ मतभार र स्थानीयतर्फ एक मत बराबर १८ मतभार रहेको छ। मतगणना दिउँसो साढे ४ बजेबाट गरिने सहायक निर्वाचन अधिृकत गोविन्दप्रसाद पौडेलले जानकारी दिए।