माओवादी केन्द्रको बैठक सकियो, के भयो निर्णय ?

हाम्रो सन्देश संवाददाता

काठमाडाैं, ६ जेष्ठ ।

नेकपा माओवादी केन्द्रले कोभिड-१९ नियन्त्रणका लागि सरकारले गठन गरेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न माग गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकले सीसीएमसी संवैधानिक नभएकाले खारेजीको माग गर्ने निर्णय गरेको माओवादी स्थायी समिति सदस्य बर्षमान पुनले जानकारी दिए।

बिपत सम्बन्धी घटनाहरू हेर्नका लागि गृह मन्त्रालयमा कानूनी व्यवस्थासहितको निकाय रहेको र स्वास्थ्य जोखिमसम्बन्धी निकायलाई पनि काम गर्न नदिएको भन्दै कानूनी हैसियत नभएको सीसीएमसीलाई खारेज गरिनुपर्ने माओवादीको ठहर रहेको उनले बताए। पुनले सीसीएमसी खारेजीको मागसहित प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउने निर्णय भएको बताए।

‘सरकारले कोभिडबारेमा काम गर्दा के के कुरामा ध्यान दिनुपर्छ भनेर शुक्रवार ज्ञापन पत्र बुझाउने निर्णय भएको छ,’ नेता पुनले भने, ‘सीसीएमसी खारेज गर्नुपर्छ त्यो अनावश्यक संयन्त्र भयो।’ बैठकले प्रधानमन्त्रीको नेतृत्वको विपद् व्यवस्थापन समिति वा गृहमन्त्री नेतृत्वको विपद् व्यवस्थापन प्राधिकरणलाई क्रियाशील बनाउनुपर्ने सुझावसमेत दिने निर्णय पनि गरेको छ।

त्यस्तै माओवादी केन्द्रले कोभिड नियन्त्रणका लागि प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन पनि माग गर्ने भएको छ। कोभिड नियन्त्रणमा सरकार पुरै असफल भएको र स्वास्थ्य सामाग्री खरिददेखि वितरणसम्ममा भएको अनियमितताको निन्दा गर्दै माओवादीले स्वास्थ्य उपकरणहरूको अविलम्ब व्यवस्था गर्न माग गरेको छ।

माओवादी बैठकले अत्यावश्यक बाहेकका राजनीति नियुक्तिहरू रोक्न तथा अनुपयुक्त क्षेत्रको खर्च घटाएर कोभिड नियन्त्रणमा जुट्न सरकारसँग माग गरेको छ। ‘संक्रमणको पहिलो र दोस्रो लहरबाट सरकारले शिक्षा लिएको देखिएन। अहिले तेस्रो लहर आइसक्यो। त्यसैले पहिलेबाट शिक्षा लिँदै तेस्रो लहरबाट जनतालाई बचाउन पर्याप्त गृहकार्य र तयारी गर्नुपर्ने आवश्यकता छ,’ नेता पुनले भने, ‘ हामी त्यसका लागि सरकारलाई झकझक्याउँछौ।’

माओवादी आफै क्रियाशील हुने

कोभिड नियन्त्रण तथा रोकथाममा माओवादीले सिङ्गो पार्टी पंक्ति परिचालन गर्ने भएको छ। अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन गरेको कोभिड नियन्त्रण युनिटले सातै प्रदेश, सबै जिल्ला र सबै पालिका र वडाहरूमा ५ दिनभित्र कमिटीहरू गठन गरेर यसको रोकथाममा पार्टी परिचालन गर्ने निर्णय गरेको नेता पुनले जानकारी दिए।

‘ती कमिटहरुले जनतामा सचेतना फैलाउने, बिरामीहरूलाई सहजीकरण गर्नेछौ। साथै हाम्रा ५ हजार भन्दा बढी जननिर्वाचित प्रतिनिधिहरू, केन्द्र र प्रदेशसहितका निर्वाचित पदाधिकारी र पार्टी सदस्यहरूबाट पारिश्रमिक कटाएर कोष खडा गर्ने निर्णय भएको छ,’ पुनले भने, ‘त्यो रकमले औषधि उपकरण खरिददेखि, संलन वितरण गर्ने तयारी भएको छ।’

माओवादी केन्द्रले शुक्रवार पत्रकार सम्मेलन गरेर निर्णयहरू सार्वजनिक गर्ने जनाएको छ।