‘कमरेडहरु ! आउनुस्, प्रचण्डकै नेतृत्वमा समाजवादी क्रान्ति गरौं’

हाम्रो सन्देश संवाददाता

काठमाडौं।

नेकपाका अध्यक्ष कमरेड प्रचण्डले हालसालै एउटा टेलिभिजन अन्तर्वार्तामा अन्तरहृदयदेखि नै आत्मबोधका साथ व्यक्त गर्नुभएका यी हरफहरूबाट सुरू गरौं भन्ने लागेको छ। जनयुद्धका सहयात्री डा. बाबुराम भट्टराई, कमरेड मोहन वैद्य, कमरेड विप्लव हामी सबै एउटै स्कुलिङका हौं। अहिलेको परिस्थितिले अहिले फेरि समय आउन लागेको छ। गल्ती गयौं कि भन्ने सबैलाई लागेको छ। मलाई जस्तै प्राप्त उपलब्धी गुम्ने हो कि भनेर सबै चिन्तित छौं।’’ बिभाजित हुनु सही होइन भन्नेतिर देशको परिस्थितिले डोराइरहेको छ। परिवर्तनको रक्षा गर्दै समाजवादको बाटोमा अगाडि बढौं भनेर बाबुरामजी, किरणजी, विप्लवजीसँग भन्न चाहन्छु।

‘‘गहिरिएर मनन गरौं त ? विज्ञानले के भन्छ भने सन्तुष्टि विकासको बाधक हो, असन्तुष्टि विकासको कारक हो। अहिले जे भइरहेको छ त्यसमा सन्तुष्ट छैनौं। सन्तुष्ट छैनौं भन्नुको तात्पर्य अझै अझै राम्रो गर्ने उद्धेश्यका लागि हो।’’ लकमरेड प्रचण्डको यो चिन्ता र चिन्तनभित्र कम्युनिस्ट आन्दोलनको रक्षा, राष्ट्र, जनता र परवर्तनप्रतिको रक्षा र समाजवादी क्रान्तिको विचार निर्माणको प्रष्ट चिन्तन, विचार, निष्ठा, सौर्य साहस, एउटा शक्तिशाली कम्युनिस्ट केन्द्र निर्माणको अठोट देखिन्छ।

वैचारिक हिसाबमा कमरेड प्रचण्ड मस्तिकमा पुँजीवादी जनवादी क्रान्तिका राजनीतिक उपलब्धीको रक्षा, पुँजीवादी जनवादी क्रान्तिका बाँकी काम आर्थिक, सामाजिक, साँस्कृतिक रूपान्तरणसहित समाजवादी क्रान्तिको तयारी र साम्यवादी आदर्श एवं सेवा भन्दा अर्को छैन भन्ने कुरा छर्लङ्ग देखिन्छ। अर्को, कम्युनिस्ट पार्टी बिपरितहरूको एकत्व हो। पार्टीभित्र, विचार, विधि, प्रणाली सामाजिक वर्गसंघर्षको आवश्यकता, औचित्यता नसकिँदासम्म चलिरहने स्वभाविक प्रक्रियाबाट बिचलित हुनु हुँदैन भन्ने कुरालाई स्पष्ट गर्छ।

नेपाली कम्युनिस्ट आन्दोलन विभिन्न उत्तरचढाव, घुम्ती र मोडहरू पार गर्दै एकपटक फेरि विचारधारात्मक रूपमा घनिभुत बहस छलफलको ठाउँमा आइपुगेको छ। त्याग, बलिदान, रगत, आँसु, पसिनाबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने खतरा पैदा भएको छ। पश्चिमा साम्राज्यवाद, विदेशी शक्ति स्वार्थ र देशीय यथास्थितिवादी प्रतिक्रान्तिकारी प्रवृत्तिले टाउको उठाउने जमर्को गर्दैछ। ऐतिहासिक बलिदानको मूल्यमा आर्जित उपलब्धीको जगबाट अगाडि बढ्ने वा उपलब्धीलाई उल्ट्याएर पश्चगामी यथास्थितिवादमा धकेलिने ? पार्टी कम्युनिस्ट पार्टीभित्रको बहस यसै वरिपरि केन्द्रित छ।

विचार, नेतृत्व, राजनीतिक कार्यदिशा कस्तो छ भन्ने कुराले मुलभुत दिशा निर्धारण गर्दछ। हिजो पुँजीवादी जनवादी क्रान्तिको कार्यभार पूरा गर्न अलगअलग पार्टी रहँदा जनताको बहुदलीय जनवाद र २१ औं शताब्दीको जनवादको कार्यदिशा अवलम्बन गरी एउटा जनयुद्ध र अर्को शान्तिपूर्ण संसदीय प्रतिस्पर्धाबाट अगाडि बढेका दुई शक्तिशाली कम्युनिस्ट पार्टीहरू ऐतिहासिक बाह्र बुँदे समझदादी हुँदै जनयुद्धको जगमा ऐतिहासिक जनआन्दोलनमा समाहित हुन आइपुगेको सत्य आत्मसाथ गर्नुपर्छ।

जनयुद्ध र जनआन्दोलनको समायोजनको मूल्य संघीय गणतन्त्र र वर्तमान संविधान हो। संविधानमा गणतन्त्र संस्थागत मात्र भएको छैन, यो समाजवादउन्मुख गतिशील पनि छ। यहाँसम्म आइपुग्दा पुँजीवादी जनवादी क्रान्तिको मुलभुत राजनीतिक कार्यभार पुरा भएको छ। बहुदलीय जनवाद र २१ औं शताब्दीको जनवादको कार्यनीतिक कार्यदिशाको भूमिका राजनीतिक उपलब्धीका साथ समापन भएको छ। बहुदलीय जनवाद र २१ औं शताब्दीको जनवादको सकारात्मक सारवस्तुका आधारमा बर्तमान समाजवादी क्रान्तिउन्मुख जनताको जनवादको कार्यदिशाको अभ्यासबाट अगाडि बढ्दैछ।

नेपाली कम्युनिस्ट आन्दोलन पुँजीवादी जनवादी क्रान्तिका बाँकी काम सम्पन्न गर्दै समाजवदी क्रान्तिको आधार खडा गर्नुपर्ने ऐतिहासिक ठाउँमा छ। नेपाली मौलिकताको समाजवादी विचार संश्लेषणका लागि मार्क्सवादी, लेनिनवादी संगठनात्मक पद्धतिको जगमा नेकपा आज विचार र प्रणाली विकासको संघर्षमा छ।

विचार र नेतृत्व अविभाज्य वस्तु हो। नेपाली कम्युनिस्ट आन्दोलन प्रवृत्तिगत रूपमा सामन्तवाद र साम्राज्यवादको हिँजडा चरित्रबाट बिकसित भएको संस्कृतिको बिम्बनबाट अछुतो रहन सकेको छैन। २००६ सालमा कमरेड पुष्पलालको नेतृत्वमा नेकपा गठन भयो। पुष्पलालको खोइरो खन्दै केशरजंग रायमाझी प्रवृत्ति मौलाउन पुग्यो। झण्डै एक दशक लामो कम्युनिस्ट आन्दोलनले बिसर्जनको पीडा भोग्नुपर्‍यो। विचार र लिडरसिप अलग हुनुको परिणाम चार दशकसम्म कम्युनिस्ट आन्दोलनले गति लिनै सकेन। तत्कालिन मालेमा कमरेड मदन भण्डारी र तत्कालीन चौंथो महाधिवेशन, मशाल हुँदै कमरेड प्रचण्ड २०४० को दशकमा उदाएपछि कम्युनिस्ट आन्दोलनभित्रको सशस्त्र संघर्ष र कम्युनिस्ट अन्दोलनको अर्को धारा शान्तिपूर्ण संसदीय प्रतिस्पर्धाको धाराले गति लिएको ऐतिहासिक तथ्यलाई नजरअन्दाज गरेर सही ठाउँमा पुगिँदैन।

मुलत कमरेड मदन भण्डारी र कमरेड प्रचण्डमा अन्तरनिहित गुण भनेको टुटफुट र बिभाजित कम्युनिस्टहरूलाई एकतावद्ध पार्ने र एकीकृत कम्युनिस्ट आन्दोलनको विकास गर्ने फराकिलो सोच हो। कम्युनिस्ट आन्दोलनभित्र कमरेड मदन भण्डारीको फराकिलो सोच र नेतृत्व कौशलताप्रति असैह्यता जाहेर भयो। उहाँलाई भौतिक रूपमा नै समाप्त पारियो। आज कमरेड प्रचण्डको फराकिलो सोच, नेचृत्व कौशलताप्रति हरेक कोण र प्रतिकोणबाट असैह्यता जाहेर भइरहेको छ। गैरकम्युनिस्टहरू, प्रतिक्रियावादी वर्गले कम्युनिस्ट नेतृत्वको आलोचना, विरोध, षड्यन्त्र गर्नु नौलो विषय होइन। तर, आफूलाई क्रान्तिकारी कम्युनिस्ट दावी गर्नेहरुबाट गरिने आक्रमण शोभनीय हुँदैन।

२००७ साल, ०३६ साल, ०४६ को राजनीतिक परिर्वतनभन्दा २०६२/०६३ सालको राजनीतिक परिवर्तन गुणात्मक परिवर्तन हो भन्ने तथ्यलाई आत्मसाथ गर्नुपर्छ। २०६३ को राजनीतिक परिवर्तनबाट पहिलोपटक नेपाली जनता सामर्भौम सत्ता सम्पन्न भए। महिला, दलित, जनजाति, सीमान्तकृत, उत्पीडित जनतालाई राजनीतिक अधिकारसम्पन्न बनायो। जाति, वर्ग, क्षेत्र र लिङ्गका जनताको चेतनालाई माथि उठायो। यो लाइन र लिडरसिपको एकरूपता हुनुकै परिणाम हो। विचार र लिडरसिपको एकरूपता हुँदैनथ्यो भने राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना सम्भव हुँदैनथ्यो। १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, गणतन्त्रको घोषणा, नयाँ संविधान निर्माण र अहिलेको पार्टी एकता सम्भव हुँदैनथ्यो।

लाइन र लिडरसिपको एकत्वबिना संगठनमा गति पैदा हुँदैन । गति पैदा नभइकन फड्को सम्भव थिएन। संघीय गणतन्त्र जनताकै लागि आएको हो र जनताकै लागि काम गर्छ भन्नका लागि गणतन्त्रका लागि लडेर आएका कम्युनिस्टहरूले बिभाजनमा रमाउने मानसिकता त्यागेर एकै ठाउँमा उभिन ढिला गर्नु भविष्यमा आफंैमाथिको बज्रपात हुन्छ। गणतन्त्र जनताकै निगरानी र नियन्त्रणमा रहन्छ। नियन्त्रणमा राख्नका लागि पश्चगामी विचारसँग लड्नुपर्छ। गणतन्त्रको नेतृत्वलाई अलगावमा पारेर मुलुकलाई पछाडि धकेल्न सबै प्रकारका षडयन्त्रलाई चिन्न विलम्ब गर्नु हुँदैन। विचार र विधिपूर्वक लड्दै, संघीय लोकतान्त्रिक गणतन्त्रबाट समाजवादमा अगाडि बढ्ने प्रवृत्ति नै आजको मुल क्रान्तिकारी प्रवृत्ति हो भन्ने कुरा बुझ्नुपर्छ।

छरिएर रहेका कम्युनिस्ट शक्तिहरू एउटै ध्रुवमा खडा नभइकन रगत, आँसु र पसिनाबाट साटेर ल्याएको राजनीतिक उपलब्धीहरूको रक्षा र समाजवादी क्रान्तिको सपना साकार पार्न सम्भव छैन। अध्यक्ष कमरेड प्रचण्डसँग हामी नेकपाका कार्यकर्ता र जनताको अपेक्षा यो छ कि डा. बाबुराम भट्टराई, कमरेड मोहन वैद्य किरण, कमरेड बिप्लव, कमरेड गोपाल किराँती, कमरेड विश्वभक्त दुलाल लगायतका जनयुद्धको स्कुलिङबाट आएका आदरणीय नेताहरू र बाहिर छरिएर रहेका विभिन्न बामपन्थी कम्युनिस्ट घटकहरू संग गहिरो छलफल गरी पार्टी एकताका लागि जोड दिनुपर्छ। हिजो गणतन्त्रका लागि युद्धमोर्चामा डटेकाहरू अब गम्भीर ढंगले आत्मसमीक्षामा जुट्न आवश्यक छ।

आज हामी फरक फरक रूपमा जे–जस्तो अवस्थामा छौं र हुनुहुन्छ, एक ठाउँमा नआइकन अब हामीले लडेर ल्याएको राजनीतिक उपलब्धीहरूको रक्षा, श्रमजिवी जनताको आर्थिक, सामाजिक, सांस्कृतिक उन्नति, सहिद, बेपत्ता, घाइते, अपाङ्गहरूको सपना र समाजवादको यात्रा असम्भव छ।

नेपाली कम्युनिस्ट आन्दोलनको परिदृश्यमा २०४६ यता जुटेर एकतावद्ध भएर लड्दाको परिणाम र शान्ति प्रक्रियापछि झण्डै १० वर्ष फुटेर हिड्दाको परिणाम हामीले बिना उत्तेजना लेखाजोखा गर्नुपर्छ। एकीकृत हुँदाको हाम्रो हिजोको शक्ति, प्रतिष्ठा, र जनताको अद्भुत माया ममता कुन उचाइमा थियो, आज फरक फरक पसल थापेर हिड्दाको अवस्थामा कति तल झरेको छ भन्ने कुरा थाहा पाउनुपर्छ। आज जनता भनिरहेका छन्, ‘ठण्डा दिमागले सोच, आत्मसमीक्षा गर, कमिकमजोरीप्रति आत्मआलोचित होउ र एक ठाउँमा बसेर छलफल र आत्म समीक्षा गर्दै अगाडिको यात्रा सँगसँगै हिड्न प्रयास गर।

हामीले हिडेको यात्रा हिजो पनि सहज थिएन र भोलि पनि सहज छैन। बर्तमानमा हामीभन्दा धेरै भुक्तभोगी सायद अरू को होला र ? मुल कुरा उसले कसरी सोच्दछ भन्ने हो। सवाल वर्ग दृष्टिकोणको हो। बाटो दायाँबायाँ, घुमाउरो नै हुन्छ। बुलेटभन्दा अझधेरै कष्टकर यात्रा हो ब्यालेटको यात्रा। ब्यालेटबाट परिर्वतन सम्भव छैन भन्ने तर्क हाम्रो संविधानले तोडेको छ। काँधमा काँध मिलाएर एउटै ताउलोको खाना खाएर आत्मीयता साटेर युद्ध लडेका कमरेडहरू एकपटक पछाडि फर्किएर हेरौं। आज हाम्रो दिनचर्या कोही, प्रचण्डलाई दलाल, कोही क्रान्तिकारी लफ्फाजी भन्नमा नै समय बर्वाद गर्दैछौं।

आठ दश वर्षको बिचमा हामीलाई फुटवाट प्राप्त के भयो ? कुन ऐतिहासिक उपलब्धी हासिल भयो ? परिणाम हामी सबैका आँखासामु छ। हिजो मनमुटु साटेर एउटै मोर्चामा लडेका योद्धाहरू, कोही प्रचण्डको दलाल भन्न र कोही, बाबुराम, किरण, बिप्लव दलाल भन्नमा जीवन ब्यतीत हुँदैछ। कमरेडहरू, राजनीतिक उपलब्धी प्राप्त भयो, राज्य संरचनाहरू फेरिए। तर, संस्कार र संस्कृति फेरिएको छैन। जनताको आर्थिक जीवनस्तर उठ्न सकेको छैन। सहिद परिवार, बेपत्ता योद्धा, घाइते अपाङ्गहरूको समस्या समाधान हुन सकेको छैन। तत्काल घाइते कमरेडहरूको उपचार, जीवन निर्वाह भत्ताको व्यवस्थासँगै आर्थिक विकास, सामाजिक र सांस्कृतिक रूपान्तरण, जनताको जीवनस्तर उठाउने प्रक्रियासँगै यो समस्याले उन्मुक्ति पाउँछ, पाउनै पर्छ।

कमरेड प्रचण्ड पहिलो र दोस्रो पटक प्रधानमन्त्री हुँदाताका सहिद परिवारले पाउने राहात, घाइते, अपाङ्ग योद्धाहरूको उपचार र केही मात्रामा निर्वाह भत्ताको ब्यवस्था भएको अवगत हुनु नै पर्छ। कृषि ऋण मिनाहा गरेको कुरा अवगत नै हुनुपर्छ। कमरेड प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा ताका देशमा १८ घण्टा लोडसेडिङ हुन्थ्यो। जनार्दन शर्मा उर्जामन्त्री हुनुहुन्थ्यो। कमरेड प्रचण्ड र कमरेड जनार्दन शर्माले सल्लाह गरी कुलमान घिसिङजीलाई विद्युत प्राधिकरणको एमडीमा नियुक्त गर्नुभयो। विचार, योजना र कार्यान्वयनको एकरूपता चाहिने थियो, त्यो कमरेड प्रचण्ड, कमरेड जनार्दन र कुलमानमा सापेक्षित स्प्रिट मिल्यो र एउटा गति पैदा भयो। प्राधिकरणभित्र व्यवस्थापनको कमजोरी सच्याउँदै, लोडसेडिङको अन्त्य भयो। आज प्राधिकरण नाफामा छ। के यस्ता उपलब्धी सामान्य हुन् त ?

प्रचण्ड सीमारहित नेता होइनन्। उनमा सीमा र कमजोरीहरू छन्। प्रचण्ड सीमा कमजोरी लुकाउने नेतामध्ये पर्नु हुन्नँ। उहाँमा कमजोरी चिन्ने, सच्याउने र सच्चिने गुण पनि छ। राजनीतिक इमान्दारिता छ। कमजोरीलाई कमजोरी भन्नसक्ने क्षमता छ। वस्तुगत स्थितिअनुसार, अगाडि बढ्न, पछाडि हट्न सक्ने, खतरा जोखिम मोल्न सक्ने साहस, धैर्य, सहनशीलता, त्याग निष्ठा र इमान्दारिताको सबल पक्ष छ।

प्रचण्ड मस्तिष्कले एकैपट धेरै बिकल्पहरू सोचिरहेको हुन्छ। एकथरि साथीहरू प्रचण्ड ओलीको टाङमुनि छि¥यो भन्नुहुन्छ। अर्कोथरि टाङमुनि छिरायो भन्छन्। तर, यथार्थ त्यस्तो होइन। प्रचण्ड र ओलीबिचको सम्बन्ध एकता र संघर्षको नियमअनुसार अगाडि बढिरहेको छ। कमरेड ओलीसँग विचार, विधि र पद्धति प्रष्ट संघर्ष चलिरहेको छ। प्रचण्ड ओली सम्बन्ध एकता, संघर्ष, रूपान्तरणका आधारमा विकास हुँदै जान्छ। यो संघर्ष कहिले सुषुप्त हुन्छ, कहिले तीब्र हुन्छ। अहिले प्रचण्डले अन्तरसंघर्षमा जे भूमिका खेल्नुभएको छ, विचार, विधि, पद्धति पार्टीलाई हिडाउन, पार्टी बिभाजन रोक्न, संघीयता र गणतन्त्रको रक्षा गर्न, पार्टी एकताको बाँकी काम पूरा गर्न, महाधिवेशनमा गएर विचार संश्लेषण गरी पार्टीलाई सुदृढ र एकतावद्ध पार्न हो।

वर्गसंघर्ष जारी रहँदासम्म पार्टीभित्र एकता संघर्ष चलिरहन्छ। वर्गका प्रतिविम्ब पार्टीभित्र आउँछ। सही र गलत विचारका विरुद्ध संघर्ष हुन्छ। तर, पाटी फुट्दैन। संघर्ष, रूपान्तरण र नयाँ एकता हुँदै पार्टी अगाडि बढ्छ। आन्दोलन अगाडि बढ्छ। विचार, विधि, र प्रणालीको संघर्ष हो। पदको पद प्रतिष्ठाको लडाईं होइन। पदका लागि प्रचण्डले पार्टी एकता गरेको होइन। प्रचण्डलाई समाजवादी क्रान्तिमा अगाडि बढ्नुछ। आजको लडाई पुँजीवाद या समाजवाद भन्ने विचार हो। कमिकमजोरी बिनाको मानव हुँदैन। द्वन्द्ववादले हरेक ब्यक्तिमा गुण र दोष हुन्छ भन्छ। अधिभूतवाद र आदर्शवादले मात्र एकाङ्की र निरपेक्ष हेर्ने हो। विचार र लिडरसिपको एकत्व कायम गर्न त्याग समर्पणको आवश्यकता पर्दछ।

माओवादी पार्टी किन फुट्यो ? माओको पार्टीमा देङस्याओ र लिस्याओचिहरू पनि थिए, माओ कैयौपल्ट अल्पमतमा पर्नुभयो। माओले पार्टी किन फुटाउनु भएन ? लेनिनले भर्सेल सन्धि किन गर्नुभयो ? हिटलरको टाङमुनि छिरेर हो त ? आजको अन्तर्राष्ट्रिय परिस्थिति के हो ? विश्व कम्युनिस्ट आन्दोलन कहाँ छ ? हामीले नेपालमा जनयुद्धको तयारी गर्दा पेरूमा कमरेड गोञ्जालो रणनितिक प्रत्याक्रमणको योजना लिएर केन्द्रीय सत्ता कब्जा गर्न लिमामा हुनुहुन्थ्यो। गोञ्जालो गिरफ्तार परेपछि सबै सकियो। जनयुद्धको बेला साम्राज्यवादले कम्युनिस्टलाई अलगावमा पार्न कुन रणनीति अपनायो ? एमसिसी सम्झौता पास गर्न आज अमेरिका किन हात धोएर लाग्दैछ ? आजको अन्तर्राष्ट्रिय परिस्थिति के हो ? विश्व कम्युनिस्ट आन्दोलन कहाँ छ ? कालापानी लिपुलेक समेटिएको नक्सा कसको बलमा प्रकाशन भयो, हिसाब किताब गर्न पर्दैन र ? परिवर्तका लागि लडेका कम्युनिस्टहरू अझ धेरै उत्तेजना आउन्, आफै हानाहान र ठोकाठोक गरून्, फाटुन्, बाझुन्, एक आपसमा नजिकै पर्न नसक्ने गरी भागुन्। यही त हो प्रतिक्रियावादीहरूको चाहना।

वर्गसंघर्ष सकिएको छैन। अगाडि बढ्ने विचार निर्माण गर्नुछ। माओवादी फुट्दा फाइदा कसलाई भयो ? तपाईं हामीले हिसाब गर्नैपर्छ। जनयुद्धको स्कुलिङवाट आएकाहरूले एकापसमा नजिक बसेर आत्मसमीक्षा गर्नैपर्छ। कमिकमजोरीहरू सच्याउँदै, अगाडिको यात्रामा सँगै जुटेर हिडाउन सकारात्मक पहल गर्नुपर्छ। सरकारले बिप्लव नेकपासँग वार्ताको वातावरण बनाउनुपर्छ। जेलमा भएका कमरेडहरूलाई रिहा गर्नुपर्छ। बिप्लव कमरेड वार्तामा आउनुपर्छ। नेकपालाई विशाल कम्युनिस्ट केन्द्रमा बदल्दै समाजवादी क्रान्तिका लागि जुट्नुको बिकल्प छैन।

दुनियाँको यति धेरै ठूलो तागत प्रचण्डविरुद्ध किन लागेको छ ? प्रचण्डभित्र विचार र लिडरसिपको एकत्वको क्षमता भएर त हो। प्रचण्डमा विचार सकिएको भए यति धेरै डर, त्रास र आलोचना आवश्यक पर्ने थिएन। प्रचण्ड प्रचण्ड रहेर त यति ठूलो विरोध र घेराबन्दी आवश्यक परेको होला। यति बुझियो भने सही बुझिन्छ। प्रचण्ड दृढता र लचकताको पराकास्ठा हो। प्रचण्ड जोखिमको नेता हो। प्रचण्डमा बिकल्पहरूको सागर बगेको हुन्छ। हामी छिपछिपेमा नै आत्तिन थाल्छौं। कहिले नाप्न भ्याउनु सागरको गहिराइ।

प्रचण्डमा गम्भीर प्रकृतिका सीमा समस्या र कमजोरी पनि छन्। उहाँले बिजातीय र अवसरवादको घेरा तोड्नु पर्छ। र्व पक्षधरताको प्रश्नमा उदारता र कोमलता छोड्नुपर्छ। उहाँमा गल्ती महसुस गर्ने र सच्याउने क्षमता पनि छ। आफ्नै टाउकोमा आगो झोस्ने आँट छ। उहाँलाई सही लागेपछि रापिलो भट्टीमा हाम फाल्न कुनै आइतबार कुर्नु पर्दैन। उहाँलाई लागेपछि दायाँ र बाँया कदममा लचकता र दृढताको सीमा पार गर्न, रोक्न सकिँदैन। जनयुद्धपूर्वका प्रचण्ड र जनयुद्धका प्रचण्ड, शान्ति प्रक्रिया र संविधान अगाडिका प्रचण्ड र संविधान निर्माण, निर्वाचन र पार्टी एकतापछिका प्रचण्ड हरेकपटक परीक्षण हुँदै आएका प्रचण्ड हुन्।

हिजो पुष्पलाल समूह हुँदै, चौंथो महाधिवेशनभित्र बहस गर्दै गरेका प्रचण्ड र आज नेकपाभित्र बहस गर्दै गरिरहेका प्रचण्डमा चिन्ता उहीँ छ कम्युनिस्ट आन्दोलनलाई कसरी सुदृढ गर्दै सही गन्तव्यमा पु¥याउने। गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी, नयाँ संविधान समाजवादउन्मुख भनिएको छ। यो जनयुद्धको जगबाट प्राप्त भएको राजनीतिक उपलब्धी हो। यसलाई कसरी रक्षा गर्ने ? राजनीतिक उपलब्धी संस्थागत भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण पूरा भएको छैन। आधारभूत श्रमजीवी जनताको आर्थिक जीवनस्तर उठेको छैन। सामन्तवाद अन्त्य भयो। दलाल पुँजीवाद हावी छ। संघर्ष नयाँ ठाउँमा आएको छ।

राष्ट्रिय उत्पादनको बढाएर आत्मनिर्भर समाजवादउन्मुख अर्थत्न्त्र विकास गर्न माथिदेखि तलसम्म दलाल पुँजीवादका विरुद्ध लड्नुछ। यो संविधानको मर्मभित्रबाट एकता, संघर्ष र रूपान्तरणको प्रक्रियाबाट पूरा गर्नुपर्ने अभिभारा प्रचण्डसामु छ। प्रचण्ड श्रमजीवी वर्गको नेतृत्व हो। प्रचण्ड समयसापेक्ष, गतिशील, राष्ट्रवादी कम्युनिस्ट नेतृत्व हो। आजको समकालीन कम्युनिस्ट राजनीतिमा नेपलको परिवेशमा विविध गुण र क्षमता भएका धेरै नेताहरू पार्टीभित्र र बाहिर छन्। ती सबैलाई एकतावद्ध गरेर आवश्यकताअनुसार अगाडि बढाउन त्याग समर्पणसहित विशिष्ट नेतृत्व क्षमता कमरेड प्रचण्डमा अन्तर्निहित छ। प्रचण्ड असीम हण्डर र ठक्कर, आरोप प्रत्यारोपबाट खारिँदै, सीमा र कमजोरीबबाट माथि उठ्दै आएको विचारसहितको नेता हो। तसर्थ, आलोचनात्मक रुपमा हेरौं।

कम्युनिस्टहरूले अनेकतामा एकता खोज्नुपर्छ। विचार र विधिमा छलफल गर्दै, सहकार्य र एकतामा रमाउन सक्नुपर्छ। कमकमजोरिहरू सच्याउँदै अगाडि बढ्नुपर्छ। पार्टीभित्र सही र गलत विचारबिच बहस, छलफल र संघर्ष भइरहन्छ, यसलाई मैत्रीपूर्ण विचार संघर्षद्वारा रूपान्तरण र एकताको बिधिबाट चल्नु पर्छ। ब्यालेटबाटै समाजवादमा पुग्नका लागि संविधानको ढोका खुला छ। कम्युनिस्ट आन्दोलन चलायमान रेल हो, यात्रीहरू ओर्लिने उक्लेने भइरहन्छ। चालक रोकिँदैन, चालकको भूमिका विभिन्न घुन्ती, मोडहरू, छिचोल्दै गति मिलाएर दुर्घटनाबाट जोगाउने दायित्व हुन्छ। यात्रालाई अन्तिम लक्ष्यमा लगेरमात्र बिसाउँछ।

नडराउनुहोस्, कमरेड प्रचण्डबाट वर्ग र आन्दोलनलाई धोका हुँदैन। आर्थिक, साँस्कृतिक, र सामाजिक परिर्वतनको काम बाँकी काम पूरा गर्दै, विकास समृद्धि हासिल गर्दै, आधारभूत जनताको जीवनस्तर माथि उठाउँदै, यात्रा अगाडि बढ्छ। समाजवादी क्रान्तिमा अगाडि बढ्न विशाल कम्युनिस्ट पार्टीको नेतृत्व गर्दै समाजवादको यात्रा अविराम अगाडि बढ्छ। बढाउनुको बिकल्प छैन।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]