झरीमा पनि रुझ्दै भोट माग्न ब्यस्त बादल

हाम्रो सन्देश संवाददाता

हेटौंडा , ६ जेठ ।

वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । मतदानका लागि प्रचार प्रसार गर्न एमाले उम्मेदवार रामबहादुर थापा बादल बुधबार नै हेटौंडा आउनुभएको थियो ।
बादलको प्रसार प्रसारमा एमालेको नेतृत्व पंक्ति पनि हेटौंडामा नै रहेको छ । एमाले उम्मेदवार बादल बिहानदेखि नै झरी परिरहेकाबेला मत माग्न व्यस्त रहनुभएको छ ।

उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ ।

निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र अन्य दलका तर्फबाट खिमलाल देवकोटा प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दिनुभएको छ । निर्वाचन सकिनासाथ मतगणना हुने र नतिजा पनि आजै आउने आयोग स्रोतले जनाएको छ ।

नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा यो निर्वाचन हुन लागेको हो । वर्तमान संविधान कार्यान्वयमा आएपछि राष्ट्रियसभा सदस्यको पहिलो पटक उपनिर्वाचन हुन लागेको हो ।