शवबाहन चालक नआएपछि वडाअध्यक्ष संक्रमितको शव लिएर घाट पुगे

हाम्रो सन्देश संवाददाता

हरिवन, ५ जेठ ।

कोरोना संक्रमणबाट मृत्यु भएकी एक महिलाको शव ब्यवस्थापनका लागि हरिवनका एक जना वडा अध्यक्ष आफै जुटेका छन् । हरिवन ११ निवासी एक महिलाको मृत्यु पछि दाहसंस्कारको लागि नेपाली सेनाले ब्यबस्थापन गरे पनि शव बहान चलाउने चालक नभएपछि वडा अध्यक्ष आफैं शव बहान चलाएर घाटसम्म पुगेका छन् ।

शवबाहन चालक संक्रमण हुन्छ भन्ने डरले नआएपछि वडा अध्यक्षले आफैल शव बाहन लिएर घाटसम्म पुगेको हरिवनका युवा राधाकृष्ण प्याकुरेलले बताए ।

शब लिएर घाटसम्म पुगेका हरिवन ११ का वडा अध्यक्ष शेख मेहबुब रेजाले आफुलाई भोट दिएर जिताएका जनताको गुन तिरेको बताए । ‘उनीहरुले मलाई भोट दिएर मलाई जिताए आज उनीहरुको लागि कोहि नहुँदा मैले नगरे कस्ले गर्ने ? मैले मेरो जिम्मेवारी निर्बाह गरेको हुँ ।’ वडा अध्यक्ष रेजाले भने ।

सुरक्षा सामग्री प्रयोग गरेर हिम्मतका साथ शव बहान चलाएर गएको बताउदै रेजाले हरेक वडा अध्यक्षमा नागरिकको दुःख सुख बुझ्ने भावना हुनुपर्ने बताए ।