पश्चिम नवलपरासीमा गोली चल्यो, एक गम्भीर घाइते

हाम्रो सन्देश संवाददाता

परासी, ५ जेठ ।

पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा गोली चलेको छ। गोली लागेर १ जना घाइते भएका छन्।गोली लागेर घाइते हुनेमा प्रतापपुर गाउँपालिका–६ का २३ वर्षिय अविनाश राजभर छन्।

उनको शहिद स्मृती अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भिर रहेको छ। भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका वनकट्टी)बाट भारततर्फ जादै गरेका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए।

सुरुमा ५/७ जनाको समूहमा जान आएका व्यक्तिहरुलाई शसस्त्रले रोकेर जान नदिएपछि उनीहरुले गाउँमा पुगेर अरु स्थानीयलाई खबर गरेका थिए।

५०/६० जनाको समूहमा आएका स्थानीयहरुले शसस्त्रमाथि ढुंगा मुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले जानकारी दिए।

‘भिडलाई नियन्त्रण गर्न सुरुमा अश्रु ग्याँस प्रहार गरिएको थियो। तर भिड अझ उग्र हुँदै आक्रमणमा उत्रिएपछि बाध्य भएर १ राउण्ड गोली चलाइएको शसस्त्र प्रहरीले जनाएको छ।