तनहुँ, ५ जेठ ।
तनहुँको व्यास नगरपालिका–१० परेवाडाँडाकी एक महिला घरभित्रै मृत फेला परेकी छन्। २७ वर्षीया मनुमाया थापा आफ्नै घरको कोठामा मृत फेला परेकी प्रहरीले जनाएको छ।
उनका श्रीमान् रोजगारीका लागि भारतमा रहेका स्थानीयले बताएका छन्। उनीहरुले महिलाको हत्या भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन्।
प्रहरीले अनुसन्धानका लागि एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। ‘घटनाको अनुसन्धान गरिरहेका छौँ, थप विवरण अनुसन्धानपछि आउँछ,’ उनले भने। रासस
दाउन्नेको जंगलमा आज बिहानै बस दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु
नवलपरासी पश्चिममा भएको बस दुर्घटनामा चार जनाको ज्यान गएको छ ।
काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना५ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानीखोलाबाट खस्दा चार जनाको घटनास्थलमै ज्यान गएको हो ।
बस खसेको थाहा पाएलगत्तै प्रहरी पुगेको र घटनास्थलमा चार जनाको शव भेटिएको नवलपरासी पश्चिम प्रहरी प्रवक्ता (डीएसपी) राजु लामाले जानकारी दिए ।
ज्यान जानेमध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी कल्पना पुनको मात्रै परिचय खुलेको उनले बताए । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र कतिजना घाइते भएका छन् भन्ने विवरण संकलन भइरहेको छ ।
नवलपरासीका पत्रकार रविन्द्र यादवका अनुसार दुघर्टनामा घाइते भएर पनि भागेका बस चालकलाई प्रहरीले पक्राउ गरेर अस्पताल पुर्याएको छ ।
निषेधाज्ञामा पनि बसले कसरी मान्छे बोकेर हिँड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस दुर्घटना आज बिहानै ६ बजे भएको बताइन्छ ।
ट्राफिक प्रहरी कार्यालय नवलपरासी पश्चिमका ट्राफिक प्रहरी निरीक्षक बासु नेपालले दिएको जानकारी अनुसार बसमा अन्दाजी ४५ यात्रु रहेको र तिमध्ये ३५ जना भन्दा धेरै घाइतेहरुलाई घटनास्थलबाट उद्दार गरि केहिलाई बुटवल र केहीलाई स्थानीय चिसापानी अस्पतालमा पठाईएको छ ।