लम्जुङ भुकम्पमा ३ जना घाईते अनि थुप्रै घर क्षतिग्रस्त

हाम्रो सन्देश संवाददाता

लमजुङ, ५ जेठ ।

लमजुङमा आज बिहान ५.८ म्याग्निच्युडको भूकम्प जाँदा भएका क्षतिबारे विवरण संकलन भइरहेको छ।

लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल अहिले प्रहरीसहितको टोली लिएर घटनास्थल निरीक्षण गरिरहेका छन्।

त्यहींबाट हामीसँग टेलिफोनमा कुरा गर्दै उनले अहिलेसम्म ३ जना घाइते भएको सूचना प्राप्त भएको जानकारी दिए। भूकम्पले थुप्रै घर भत्किएको, चर्किएको उनले बताए।

‘क्षतिको विवरण संकलन जारी छ,’ ‘एकिन गर्न बाँकी छ।’

प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनुसार बेंसीसहर वडा नम्बर ११ की ८७ वर्षीया खोपकुमारी पाण्डे घाइते भएकी हुन्। घर भत्केर गाह्रोले थिच्दा उनी घाइते भएको र अहिले उपचार जारी छ भने अवस्था सामान्य छ।

त्यसैगरी मस्र्याङ्दी वडा नम्बर ६, ठूलोबेंसीका २२ वर्षीय गोविन्द अधिकारी भूकम्प आएपछि बार्दलीबाट हामफाल्दा बेहोस भएका छन्। उपचार जारी रहेको र अहिले होस आइसकेको प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिए।

यसैगरी बेंसीसहर वडा नम्बर ६ मा घरको गाह्रोले पुर्दा ३६ वर्षीया महिला घाइते भएको उनले जानकारी दिए। दाहिने हातमा चोट लागेकी ती महिलाको नाम भने खुल्न बाँकी रहेको उनले बताए।

अहिलेसम्मको रिपोर्टिङअनुसार भूकम्पका कारण मृत्युचाहिँ भएको छैन कि भन्ने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी लुइँटेलले बताए। तर विवरण संकलन जारी रहेकाले थप क्षतिको कुरा आउन सक्ने सम्भावना पनि रहेको उनको भनाइ छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु भएर आज बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा ५ दशमल ८ म्याग्निच्युडको भूकम्प गएको हो।

‘यो भूकम्प २०७२ सालको महाभूकम्पकै परकम्प हो,’ भूकम्प मापन केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले नेपालखबरसँग भने, ‘यो मध्यमस्तरको भूकम्प हो। सामान्यतया यत्तिको भूकम्पले ठूलो क्षति गर्दैन।’

उनका अनुसार यो २०७२ सालकै महाभूकम्पको परकम्प हो। परकम्प अझै केही वर्षसम्म गइरहने उनले बताए। नेपाल खबर बाट

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]