आरजु देउवाले दिइन् अक्सिजन प्लान्ट खरिदका लागि १० लाख रुपैयाँ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २ जेठ ।

नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले अक्सिजन प्लान्ट खरिदका लागि धनगढी उपमहानगरपालिकालाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् ।
नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाकी पत्नी समेत रहेकी देउवाले आइतबार अक्सिजन प्लान्ट र सिलिन्डर खरिदका लागि उपमहानगरपालिकाले खडा गरेको मेयर कल्याणकारी कोषमा उक्त रकम जम्मा गरेकी हुन् । कोरोना संक्रमितको उपचारका लागि अक्सिजन प्लान्ट स्थापना र सिलिन्डर खरिद गर्न देउवाले उक्त रकम सहयोग गरेको उनको स्वकीय सचिव प्रकाश देउवाले जानकारी दिए ।

धनगढी उपमहानगरपालिकाले खडा गरेको मेयर कल्याणकारी कोषमा यहाँका उद्योगी, व्यवसायी लगायतकाले सहयोग गरिरहेका छन् ।

ओलीलाई राष्ट्रपतिले गराएको शपथविरूद्ध सर्वोच्चमा रिट

प्रधानमन्त्री केपी ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथविरूद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ। अधिवक्ता चन्द्रकान्त ज्ञवालीले प्रधानमन्त्रीले लिएको शपथ कानुनविपरीत भएकाले बदर गर्न माग गररेका हुन् ।

शपथ र शपथपछि प्रधानमन्त्रीले सात मन्त्रीको नियुक्तिविरूद्ध अधिवक्ता सन्तोष भण्डारीले पनि अर्को पेश गरेका छन्। उनको रिटमा पुर्‍याउनु पर्ने रित पूरा नभएको र ज्ञवालीको रिट अध्ययनकै क्रममा रहेकाले आज दर्ता गर्न नसकिएको सर्वोच्चको रिट महाशाखाले जनाएकाे छ ।

ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा दुइटा महत्वपूर्ण अंश भन्न छुटाएका थिए। ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाएका थिए।

प्रधानमन्त्री ओलीले छुटाएको उक्त वाक्यांश राष्ट्रपति भण्डारीले दोहोर्‍याएकी थिइन्। ओलीले भने ‘यो पर्दैन’ भन्दै शपथग्रहण अगाडि बढाए। उनको त्यस्तो जवाफ सुनेर राष्ट्रपति हाँसेकी थिइन्।

त्यसपछि ओलीले शपथमा प्रयोग भएको ‘ईश्वर’ भन्ने शब्द पनि उच्चारण गरेनन्। शपथ ग्रहणका वाक्यांश जानाजान छुटाएर प्रधानमन्त्री ओलीले शपथको गरिमा लत्याएको र राष्ट्रपतिको समेत मानमर्दन गरेको बताइएकाे छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]