६.१ म्याग्नीच्यूडको भूकम्प गयो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २ जेठ ।

जापानको होक्काइडो प्रिफेक्चरमा आइतबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको जापानी मौसम विज्ञान विभाग (जेएमए)ले जनाएको छ ।

जमिनको सतहभन्दा करिब ६० किमि गहिराईमा रहेको उक्त भूकम्प स्थानीय समय अनुसार आइतबार दिउँसो १२ बजेर २४ मिनेटमा गएको थियो ।

भूकम्प त्यति शक्तिशाली नभएको भन्दै सुनामीको चेतावनी नदिइएको विभागले जनाएको छ ।

व्यक्ति ओली हैन प्रधानमन्त्री ओलीलाई भेटेको हुँ: डा. भट्टराई

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइले आफूले केपी ओलीलाई नभई यो देशको प्रधानमन्त्रीलाई भेटेको स्पष्ट पार्नु भएको छ ।

कोरोना महाविपत्ति उन्मुख देशलाई निकास दिन ओलीलाई नभई यो देशको प्रधानमन्त्रीलाई भेटेको भट्टराइले स्पष्टीकरण दिनु भएको छ ।

एमालेका नेता महेश बस्नेतले प्राइम टेलिभिजनको एक कार्यक्रममा बाबुराम भट्टराई प्रधानमन्त्री बनाइदिनुपर्यो भन्दै प्रधानमन्त्री ओलीलाई भेट्न राति १ बजे बालुवाटार गएको बताएपछि भट्टराइको यस्तो स्पष्टीकरण आएको हो ।

बस्नेतले बाबुराम भट्टराईले आफूलाई प्रधानमन्त्री बनाइदिनुपर्यो भन्दै प्रधानमन्त्री ओलीलाई दुई पटक राति १ बजे भेटेको खुलासा गर्नु भएको थियो ।

भट्टराइले वर्तमान तथा पूर्व प्रधानमन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेको तर, उहाँले नमानेपछि अरुलाई नभनेको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुअघि डा. भट्टराइले वर्तमान प्रम र पूर्व प्रम बाहेकबाट सबै दलको प्रतिनिधित्व हुने गरी राष्ट्रय सहमतीय सरकार बनाउन आग्रह गर्दै ट्विट गर्नु भएको थियो ।

उहाँले अझै पनि धारा ७६ (५) बमोजिम सरकार बनाउन सकिने हुँदा अझै सोच्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको छ ।