ओम हस्पिटलका साहुको हर्कत: बाउको नाममा गाडीको पास बनाएर छोरोलाई ससुराली सरर

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २ जेठ ।

देश कोरोना संकटले थला परेको बेला कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालहरु निरन्तर सक्ने कोसिस गरिरहेका छन् । यस्तो बेला अस्पतालका साहुको गाडीका नाममा सवारी पास बनाउन जाँदा कसो पास नबन्ला र ? बन्ने नै भयो ।

यसै शिलशिलामा काठमाडौँको चाबहिलमा रहेको बेलाबखत विवाद र चर्चामा आइरहने ओम हस्पिटलका साहुले अस्पतालको लेटरहेडमा एउटा पत्र बनाएर बाटोमा सहज आवतजावत गर्न अनुरोध गरेका छन् । तर त्यो पत्र अस्पताल आवतजावतका लागि भन्दा पनि छोरोलाई ससुराली जानलाई बनाएको पाइएको छ ।
अरु बेला अनेक काण्ड गरेर चर्चामा आउने उक्त अस्पताल यस पटक भने कोरोना महामारी र लकडाउनमा पनि साहुको छोरोलाई ससुराली जान पास बनाएर उत्तिकै चर्चित बनेको छ । दुई दिनअघि अक्सिजनको अभाव देखाउँदै संक्रमितको उपचार गर्न नसक्ने भनी हात उठाएको अस्पतालले गृह मन्त्रालय र सिडिओ कार्यालयलाई ठाडो चुनौति दिएर आफै यौटा चिर्कटो काटी करोडौंका गाडी कुदाइरहेको छ ।

सडकमा खटिएका सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीलाई ‘जो जससँग सम्बन्धित छ’ भन्ने व्यहोराको पत्र लेखेर अस्पताल प्रशासनले सञ्चालकको छोरालाई निषेधाज्ञामा ससुराली जाने जाँचोपाँजो मिलाएको बताइएको छ ।

सरकारले तोकिएका बाहेकको अवस्थामा गृह मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुमति बेगरको पासमा सवारी साधन गुडाउन नपाइने बताएको छ । तर अस्पतालले बैशाख २० गते लेटर प्याडमा ‘सञ्चालक टंकबहादुर श्रेष्ठले निषेधाज्ञाको समयमा पनि अस्पतालको सेवा सुचारु राख्नुपर्ने भएकाले कुनैपनि समय अस्पतालमा आउनुपर्ने हुँदा उहाँको बा ७ च ३३४ नम्बरको गाडीलाई आवतजावतमा सहयोग गरिदिन’ भनेर ठाडो पत्र लेखेको हो ।

स्रोत भन्छ ‘आवश्यकता र औचित्य खुलाएर निवेदन दिएमा जिल्ला प्रशासन कार्यालयले सवारी पास दिने गरेको छ । तर छोरा सन्दिपलाई ससुराली जान त कसले अनुमति देला र ?

यसै पनि अहिले लकडाउनमा लखर लखर बजार डुल्न र प्रेमिका घुमाउन अनेक पास बनाएर युवायुवतीहरु डुलिरहेका कुरा सामाजिक सञ्जालमा छरपस्ट आइरहेका बेला अस्पतालका साहुको छोरा ससुराली जान अपनाइएको यस्तो गज्जबको तरिकाले सामाजिक सञ्जाल झन् तातिएको छ ।

यसरी अस्पताल जाने बहानामा मात्र हैन अहिले च्याउ उम्रे जसरी खोलिएका अनलाइन पोर्टल र यूट्युटेहरुले प्रेस पास बनाएर सडकमा गाडी, मोटरसाइलको ताती नै लगाइरहेको पनि देख्न पाइन्छ । त्यस्तो प्रेस पास लिएर बजारमा डुल्नेहरुका हर्कतले व्यवसायिक मिडिया र सञ्चारकर्मीलाई समेत लाजको मर्नु हुने गरेको छ ।

यस्ता अनेक थरि बहानामा बनाइने पासलाई रोकेर निषेधाज्ञको पालना गराउन तिर प्रहरी प्रसाशनले पानि ध्यान दिनुपर्ने देखिन्छ । अत्याबस्यक समान लिन जाने बाहेक अन्य सबै खाले पासलाई रोकेर केहि समय कोरोना नियन्त्रण तिर नै ध्यान दिन तिर प्रसाशन लाग्ने कि ? सञ्चारकेन्द्र बाट साभार