कोरोना संक्रमितका लागि अस्पतालले निकाल्यो यस्तो नयाँ नियम

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ जेठ ।

सप्तरीमा अब १० दिनसम्म अस्पतालमा बसेर उपचार गरेका संक्रमितको तीन दिनसम्म कुनै लक्षण नदेखिए दोस्रो पटक पीसीआर परीक्षण नगरिने भएको छ । उनीहरुलाई चिकित्सकको सल्लाह बमोजिम दोस्रो पीसीआर नगरी एक हप्ता होम आइसोलेसनमा बस्ने गरी पठाउने र त्यसको व्यवस्था स्थानीय तहले मिलाउने निर्णय भएको छ ।

सबै स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका अध्यक्ष, सुरक्षा अधिकारी, जिल्ला संकट व्यवस्थापन समितिका पदाधिकारीको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले संघीय सरकारको निर्णय अनुसार १० दिनपछि संक्रमण नसर्ने सम्भावना रहेकाले अस्पतालमा भर्ना भएकालाई १० दिनसम्म उपचार गरेपछि तीन दिनसम्म लक्षण नदेखिएमा होम आइसोलेसनमा पठाउने निर्णय भएको हो ।

यस्तै, आइसोलेसन र क्वारेन्टिनमा १४ दिनसम्म बसिसकेकालाई दोस्रो पीसीआर नगराइ होम आइसोलेसनमा पठाउने निर्णय पनि बैठकले गरेको छ । बैठकले वैशाख ३ गते कोरोना राहत तथा विपद् व्यवस्थापन कोष गठन गर्ने र त्यसमा प्रत्येक स्थानीय तहबाट रकम जम्मा गर्न पत्राचार गरिएकोमा हालसम्म केही स्थानीय तहबाट मात्र प्राप्त हुन आएकाले बाँकी स्थानीय तहबाट कोषमा यथाशीघ्र रकम जम्मा गर्न भनिएको छ ।

उक्त कोषमा जम्मा भएको रकमले अक्सिजन प्लान्ट सञ्चालनका लागि छिन्नमस्ता अस्पताल प्रालिलाई ३० लाख सोधभर्ना हुने गरी हाललाई उपलब्ध गराउने निर्णय भएको जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादवले जानकारी दिए ।

यस्तै, जिल्ला संकट व्यवस्थापन केन्द्र र जिल्ला समन्वय समितिको बैठकबाट भएको निर्णय अनुसार स्थानीय तहले क्वारेन्टिन र आइसोलेसन केन्द्र तयार नगरेको भए अबिलम्ब तयार गर्ने, नेपाल सरकारबाट घोषित ५, १० र १५ बेडको अस्पताल कुन अवस्थामा छ त्यसको तयारीको विषयमा जिल्ला संकट व्यवस्थापन केन्द्रलाई जानकारी गराउने निर्णय पनि भएको उनले बताए ।

कोरोना भाइरसको संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७ हजार ९७१ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४६ जना र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा १२१ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ४७ हजार ४ पुगेको छ । तीमध्ये पछिल्लो २४ घण्टामा ५ हजार ४५५ सहित हालसम्म ३ लाख ३३ हजार १०८ जना निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमित १ लाख ९ हजार ७४० जना रहेका छन् । जसमध्ये होम आइसोलेसनमा १ लाख १ हजार ७७१ जना छन् भने ७ हजार ९६९ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये १ हजार ३३१ जनाको आईसीयू र ३७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।