निषेधाज्ञा उल्लंघन र प्रहरीमाथि अभद्र व्यवहार गर्ने पक्राउ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ जेठ ।

निषेधाज्ञाको उल्लंघन गर्ने तथा प्रहरीमाथि अभद्र व्यवहार गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । निषेधाज्ञा उल्लंघन गरेर पसल खोल्ने, अनावश्यक हिडडुल गर्ने, आवतजावतमा रोक लगाउने लगायतका गतिविधिमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० का २६ वर्षीय साहेव शेख, वीरगञ्ज–१३ का ३० वर्षीय असरफ राइन, पर्साका पोखरिया नगरपालिका–३ का १९ वर्षीय हनिफ हुसेन, पर्साकै विन्दबासिनी गाउँपालिका–४ का ३० वर्षीय भोला प्रसाद साह र भारत बिहारका मुन्ना साह रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूलाई प्रहरीले सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूर संक्रामक रोग ऐन २०२० अनुसार कसूर गरेको अभियोगमा पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता डिएसपी ओम प्रकाश खनालले बताए ।
पाँचै जनामाथि थप अनुसन्धान तथा कानूनबमोजिम कारबाही प्रक्रिया अगाडि बढेको उनको भनाइ छ।

उनीहरूले वीरगञ्ज महानगरका विभिन्न स्थानमा खटिएका पिकेट, मोबाइल तथा मोटरसाइकलका गस्ती टोलीमाथि समेत अभद्र व्यवहार गरेका थिए।