सपथ ग्रहणको तयारी, नयाँ मन्त्रीहरु को को बन्दै !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३१ बैसाख ।

अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण कार्यक्रम आज दिउँसो शीतल निवासमा हुँदैछ । उनको सपथ ग्रहण लगत्तै नया मन्त्रीमण्डल गठन गरिने स्रोतले दाबी गरेको छ ।नियुक्ति पाउने नयाँ मन्त्रीहरु केही नया अनुहार समेत आउन सक्ने स्रोतको दाबी रहेकोे छ ।

बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वास गुमाएपछि सबै मन्त्रीहरु पदमुक्त भएका छन् । उनीहरुको पनि आजै पुनर्नियुक्ति हुनेछ ।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमत पु-याएर दाबी पेश गर्न तीन दिनको समय दिएकी थिइन् । विहीबार राति ९ बजेसम्म दिइएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पुर्याउन नसकेपछि राति १० बजे राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

अब प्रधानमन्त्री ओलीले एक महिनाभित्र फेरि संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसबेला उनले विश्वासको मत पाएनन् भने धारा ७६ (५) अनुसार राष्ट्रपतिले अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने हुन्छ । र, उसले पनि एक महिनामा विश्वासको मत पाउन नसके प्रधानमन्त्रीले संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गर्न पाउँछन् ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]