थप माग पूरा नभए ४ बजे राजीनामा गर्ने माधव नेपाल पक्षको चेतावनी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० बैसाख ।

नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले आफ्ना माग पूरा गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीवार दिउँसो ४ बजेसम्मको अल्टिमेटम दिएको छ ।

स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ४ जना नेताको कारबाही फुकुवा गरे पनि पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने नेपाल पक्षीय नेताहरूको माग छ । कारबाही फुकुवाले मात्रै समस्या समाधान नहुने भएकाले नयाँ गठन गरिएका कमिटी र खोसिएका जिम्मेवारी पुरानै अवस्थामा रहने ग्यारेन्टीको माग गरिएको नेता भीम रावलले जानकारी दिनुभयो ।

माधव नेपाल पक्षका सांसदले राजीनामा दिएर कांग्रेस नेतृत्वको सरकारलाई सघाउने चर्चा चलिरहेकाले बैठकले कारबाही फिर्ताको निर्णय गरेको हो ।

४ बजेसम्म माग पूरा नभए राजीनामा दिने रावलको चेतावनी छ ।

ठाकुर–महतोलाई भेटेपछि देउवाले बोलाए पदाधिकारी बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन् । उनले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोलाई भेटे लगत्तै देउवाले निवासमै ४ बजे पदाधिकारी बैठक बोलाएका हुन् ।

राष्ट्रपतिले दिएको समय सकिन लागेका बेला सरकार गठनको गृहकार्यमा दलहरुको दौडधुप तीव्र छ । बैठकमा सरकार निर्माणका लागि भइरहेका प्रयासबारे छलफल हुने एक नेताले जानकारी दिएका छन् ।

यसअघि देउवाले जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई आफ्नै निवासमा बोलाएर छलफल गरेका थिए ।
भेटमा देउवाले आफ्नो नेतृत्वमा सिंगो जसपालाई लिएर बहुमतको सरकार बनाउन सहमतिका लागि आग्रह गरेका छन् ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]