माधव नेपालसहित चार नेताको कारबाही फुकुवा गर्ने एमाले स्थायी कमिटीको निर्णय

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० बैसाख ।

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवाको निर्णय लिएको स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पहिलाेपाटीलाई जानकारी दिए।

नेकपाबाट छुट्टिएर एमाले भएपछि समानान्तर गतिविधि गरेको र पार्टी निर्देशन उल्लंङ्घन गरेको भन्दै यसअघि उनीहरुलाई पार्टीबाट निलम्बन गरिएको थियो । ज्ञवालीले राष्ट्रिय राजनीतिक अवस्थालाई समेत विश्लेषण गरेर पार्टी र सरकार सम्बन्धी अरु सबै निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष केपी ओलीलाई दिएको बताए ।

सांसदको राजीनामा रोक्न विष्णु पौडेल बिहानै पुगे नेपाल निवासमा

सरकार गठनका लागि विपक्षी गठबन्धन अन्तिम कसरतमा जुटिरहेका बेला नेकपा एमाले नेता विष्णु पौडेल आज (बिहीबार) विहानै वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका छन् ।

अहिले वरिष्ठ नेता नेपाल र विष्णु पौडेलबीच कोटेश्वरमा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल भइरहेको छ । नेपाल पक्षको आजै जुम स्थायी समिति बस्ने तयारी भइरहेका बेला पौडेल नेपाललाई भेट्न गएका हुन् ।

नेपाल पक्षका सांसदहरूले राजीनामा दिने तयारी गरिरहेका छन् । उनीहरुको राजीनामा रोक्न पौडेलले सक्रियता बढाएका हुन् । आजै नेपाल पक्षका सांसदहरूको राजीनामा नआए बहुमत सरकार दाबी गर्ने कांग्रेसको योजना असफल हुनेछ । पार्टीभित्रको विवाद समाधानका विषयमा अध्यक्ष केपी शर्मा ओली मौन बसेका कारण नेपाल–खनाल पक्ष राजीनामाको निष्कर्षमा पुगेको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]