चन्द्रागिरि नगरपालिकामा जेठ १ गतेदेखि एकहप्ता सिल गरिने

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० बैसाख ।

कोरोना भाईरसको रोकथाम तथा नियन्त्रण गर्नका लागि चन्द्रागिरी नगरपालिकालाई जेठ १ गतेदेखि जेठ ७ गतेसम्म पूर्णरुपमा सिल गरिने भएको छ । नगरपालिकाका नगर प्रमुखको अध्यक्षता बसेको बैठकले जेठ १ गते बिहान ६ बजेदेखि ७ गते बिहान ५ बजेसम्म नगरपालिका पूर्णरुपमा बन्द गरी सिल गर्ने निर्णय गरेको हो ।

बुधबार नगर प्रमुख घनश्याम गिरीले जरुरी सूचना जारी गर्दै बैशाख २९ गते नगरपालिका भित्रका सबै सरोकारवालाहरु सहित बसेको बैठकले नगरपालिका भित्र कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि जेठ १ गतेदेखि ७ गतेसम्म एकहप्ता नगरपालिकालाई सिल गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

जेठ १ गते बिहान ६ बजेदेखि जेठ ७ गते बिहान ५ बजेसम्मका लागि घर बाहिर हिंडडुल गर्न पुर्णरुपमा रोक लगाउने निर्णय गरिएको छ । साथै औषधि पसल र स्वास्थ्य संस्थाका आवश्यक सेवा बाहेकका अन्य सेवा र सम्पूर्ण खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफुल तथा तरकारी पसल, निर्माण व्यवसायी लगायतका पसलहरु, नगरपालिकाका वडा कार्यालय, नगरबाट सञ्चालित योजनाहरु, सरकारी, गैर सरकारी, बैंक तथा वित्तीय संस्थाहरु, नीजि सम्पूर्ण कार्यालयका सेवाहरु पूर्ण रुपमा बन्द गरिने पनि जनाईएको छ ।

चिनियाँ खोपको दोस्रो मात्रा लगाउनका लागि भने मानिसहरुले पहिलो पटक लगाएको खोपको कार्डका साथ तोकिएको मितिमा खोप केन्द्रसम्म भने यात्रा गर्न पाउनेछन् ।