कोरोनाको कारण प्रदेशसभा सदस्य चौलागाईंको निधन

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २९ बैशाख ।

कोरोनाको कारण बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको आज राति काठमाडौंमा निधन भएको छ ।

नेपालको प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीका नाममा स्थापित स्वयम्भूस्थित अस्पतालमा उपचार गराइरहनुभएका चौंलागाईंलाई भेण्टिलेटरमा राख्न नपाउँदै आइसीयुमै निधन भएको हो ।

हिजो बिहानसम्म स्वास्थ्य अवस्था राम्रो रहेता पनि दिउँसोबाट अक्सिजन लेभल घट्न थालेको थियो । हिजै बेलुकी रेम्डेसिभिर इन्जेक्सन लगाएपछि आज बिहान केही सजिलो भएको बताइएको थियो ।

आजै दिउँसो मात्र पनि उहाँले चिकित्सकमार्फत आफ्ना अग्रज राजेन्द्रप्रसाद पाण्डेलाई म ठीक हुँदैछु कमरेड भनेर खबर पठाउनुभएको थियो तर अफसोच,राती नौ कटेपछि अकस्मात यस्तो दुखद खबर बाहिरियो ।

आज दिउँसोसम्म अवस्था ठीकै रहे पनि अपरान्हदेखि एकाएक फोक्सो खराब र मुटुको चाल कमजोर हुँदै गएपछि साँझ अबेर निधन भएको हो ।

२०५६ सालमा दोलखाबाट प्रतिनिधिसभा सदस्य तथा ०७० मा दोस्रो संविधानसभा सदस्यसमेत रहनुभएका चौंलागाईं एमाले पोलिटब्युरो सदस्यसमेत हुनुहुन्थ्यो । दोलखाका प्रख्यात एमाले नेता चौंलागाईं माले र एमाले विभाजनपछि युवा संघको अध्यक्ष बन्नुभयो ।

२०३९ सालमा सानोठिमी क्याम्पसको स्ववियु सभापति हुनुहुन्थ्यो । त्यसैगरी २०५५ सालपछि एमालेको अञ्चल सचिव रहनुभयो ।

तीन दिनअघि दोलखा भीमसेनको मूर्तिमा पसिना आएको समाचार बाहिरिएको थियो । धार्मिक विश्वास राख्नेहरुले उक्त समाचारलाई अनिष्ठको रुपमा लिने गर्छन् । सोही जिल्लाका जनप्रिय नेताको निधनलाई कसै कसैले भीमसेनको मूर्तिमा आएको पसिनासँग समेत जोडेका छन् । जन आस्था

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]