काठमाडौं, २८ बैशाख ।
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ३०० रुपैयाँले सुनको मूल्य बढेको छ ।
नयाँ मूल्य अनुसार आज प्रति तोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजापी सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको थियो । त्यस्तै सोमबार तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाका २५ प्रतिशत शाखा मात्रै खोल्न पाइने
बैंक तथा वित्तीय संस्थाले अब काठमाडौं उपत्यकामा २५ प्रतिशत मात्रै शाखा कार्यालय खुला गर्न पाउने भएका छन् । बैंकिङ कारोबारलाई सकेसम्म विद्युतीय माध्यमबाट सञ्चालन गर्नुपर्नेछ ।
बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालयले २० प्रतिशत मात्रै जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने छ । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप भएसँगै मंगलवार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि मंगलवार जारी गरिएको आदेशमा कम जनशक्तिमा बैंक तथा वित्तीय संस्था सञ्चालन गर्नुपर्ने उल्लेख छ ।
आदेश अनुसार सोसम्बन्धी विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्ने छ । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीका अनुसार कोरोनाको जोखिम कम गर्नका लागि कम शाखा तथा जनशक्तिका बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न आग्रह गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाका सवारी साधन सञ्चालनका हकमा सीमित सवारी पास जारी गरी सोको विवरण केन्द्रीय बैंक र जिप्रकालाई दिनुपर्नेछ ।
केन्द्रीय बैंकले यसअघि नै न्यून जनशक्ति प्रयोग गरी बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।