ओलीलाई प्रचण्डको प्रश्न– ‘यो संसद्बाट विश्वासको मत माग्ने नैतिक अधिकार छ र ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २७ बैशाख ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसद्मा विश्वासको मत माग्ने नैतिक अधिकार नभएको बताएका छन् ।
सोमवार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीसँग मत माग्ने नैतिक अधिकार नभएको बताएका हुन् । ‘प्रधानमन्त्रीजी, तपाईंसँग यो संसद्मा विश्वासको मत माग्ने नैतिक अधिकार छ र ?,’ अध्यक्ष प्रचण्डले प्रश्न गर्दै भने– ‘छातीमा हात राखेर सोच्नुस् त, तपाईंले नै विघटन गरेर सर्वोच्च अदालतले पुनःस्थापित गरेको होइन र ? तपाईंसँग अझै विश्वासको मत माग्ने नैतिक अधिकार रह्यो र ?’

प्रधानमन्त्री ओलीले आज संसद्बाट विश्वासको मत लिँदैछन् ।

औषधि खरिदमा भ्रष्टाचार भएको भए दोषीलाई कारबाही हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसका विरुद्धमा नेपाल सरकारले ल्याउन लागेको खोप तथा औषधि खरिदमा कारबाही भएको भए ती दोषीमाथि कारबाही हुने बताउनुभएको छ ।

आज आफूले विश्वासको मत प्राप्त गर्नका लागि आह्वान गरेको संसद अधिवेशनलाई सम्बोधन गर्दै सो धारणा राख्नुभएको हो ।

उहाँले भन्नुभयो– यहाँ त औषधि किन्दा पनि भ्रष्टाचार गर्यो भनेर प्रधानमन्त्रीमाथि हमला गर्ने काम भएको छ, यो सरकारले यस्तो काम गर्दैन र कसैले गरेको भए कारबाही हुन्छ ।

सरकारले भारतबाट खोप किन्ने विषयमा कमिसन नमिलेको भनेर खोप ल्याउन ढिला भएको भन्दै सरकारको व्यापक मात्रामा आलोचना हुदै आएको छ ।