नेपालमा थप ८ हजार ८५० जनामा कोरोना सङ्क्रमण पुष्टि, ८८ जनाको ज्यान गयो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ बैशाख ।

नेपालमा पछिल्लो २४ घण्टामा आठ हजार आठ सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।

यस्तै थप ८८ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ। पछिल्लो २४ घण्टामा ५२ जना र यसअघि ज्यान गुमाएकाहरूको विवरण प्राप्त भएको २६ जना गरी ८८ जनाको ज्यान गएको हो ।

आइतबार देशभर गरी ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यस्तै काठमाडौँ उपत्यकामा ४ हजार १९८ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौँमा ३ हजार १६१, भक्तपुरमा ५०४ र ललितपुरमा ५३३ जनामा संक्रमण पुष्टि भएको हो ।