आफ्ना नागरिकलाई नेपाल छाड्न अमेरिकाको निर्देशन

हाम्रो सन्देश संवाददाता

पोखरा, २६ बैशाख ।

अमेरिकी सरकारको विदेश मन्त्रालयले नेपालमा रहेका अमेरिकन कर्मचारीहरुका परिवार र गैर आपतकालिन कर्मचारीहरुलाई नेपाल छाड्न अनुमति दिएको छ।

नेपालमा कोरोना संक्रमण दर दैनिक १० हजारको नजिक पुगेपछि अमेरिकाले स्वेच्छिक रुपमा नेपाल छाड्न चाहने गैर आपतकालिन कर्मचारीहरु र सबै कर्मचारीका परिवारलाई नेपाल छाड्न अनुमति दिएको हो।

नेपालबाट नियमित व्यवसायिक उडानहरु स्थगित भइसकेका छन्। अन्तर्राष्ट्रिय उडान रोकिएको बेला नेपालबाट अमेरिका प्रस्थान गर्न चाहने अमेरिकन र ग्रिनकार्डवाहकहरुका लागि अमेरिकी दूतावास काठमाडौँले फर्म उपलब्ध गराएको छ।

फर्म भरेको खण्डमा आफूहरुलाई को को व्यक्ति नेपालबाट प्रस्थान गर्न चाहन्छ भन्नेबारे बुझ्न सहयोग हुने र चार्टड उडान उपलब्ध हुनासाथ सुचनाहरु उपलब्ध गराउने दूतावासले जनाएको छ।

अमेरिकी दूतावास काठमाडौँले भने अमेरिकी सरकारको पहलमा कुनै पनि उद्दार उडानको आयोजना नगरेको दूतावासले स्पष्ट पारेको छ।

अहिलेको समयमा नेपालबाट कुनै चार्टड उडान प्रस्थान गर्नेबारे आफूहरुलाई सुचना नभएको र भविश्यमा हुने त्यस्ता उडानबारे आफूहरुलाई जानकारी प्राप्त हुनासाथ ती उडानहरुमा टिकट किन्नका लागि सुचनाहरु उपलब्ध गराउने दूतावासले जनाएको छ।

नेपाल छाड्न चाहने अमेरिकन नागरिक र ग्रिनकार्डवाहकले भर्नुपर्ने फर्म

अहिलेका लागि मे १४ सम्म अन्तर्राष्ट्रिय उडानहरु स्थगित भएपनि परिवर्तित अवस्थालाई सम्बोधन गर्न उडान स्थगन लम्बिनसक्ने तर्फ दूतावासले सचेत गराएको छ।

यद्यपी सरकारले लकडाउनको बेलामा नेपाल छाड्न चाहनेहरुका लागि चार्टड उडानको अनुमति दिने चाहना व्यक्त गरेको भन्दै दूतावासले नेपाल छाड्न चाहने अमेरिकनहरुका लागि फर्मको व्यवस्था गरेको हो।

अहिले नेपालबाट नयाँ दिल्लीमा साताको दुईवटा बाहेक सबै अन्तर्राष्ट्रिय उडानहरु स्थगित भइसकेका छन्।

यसैबीच नेपालको पर्यटन मन्त्रालयले काठमाडौं फर्कन सहयोग चाहिने पर्यटकहरुका सन्दर्भमा फर्मको व्यवस्था गरेको छ। पर्यटकहरुको स्थान र अवस्थाबारे जानकारी हासिल गर्नका लागि उक्त फर्मको व्यवस्था गरिएको हो।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]