ओलीलाई नेपालको चेतावनी: बलमिचाइँ तत्काल बन्द गर्नुस्

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २५ बैशाख ।

सत्तारुढ नेकपा एमालेका नेता माधव कुमार नेपालले गलत बाटो प्रयोग गरी संवैधानिक आयोगमा पदपूर्ति नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति नगर्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिएका हुन् ।

अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्ने सरकारको कदम अलोकतान्त्रिक भएको उनको ठहर छ । कोरोना महामारी नियन्त्रण र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनका सरकार केन्द्रित हुनुपर्ने नेता नेपालले बताए ।

‘कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो,’ उनले भनेका छन्, ‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन । अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आह्वान गर्छु ।