ओलीलाई साथ दिन एमाले गएका माओवादी नेता अलपत्र

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २४ बैशाख ।

साविक नेकपा खारेज भएपछि माओवादी केन्द्रका केही प्रभावशाली नेताहरु नेकपा एमालेमा प्रवेश गरे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेर उनीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा आफूलाई उभ्याए ।

दश वर्ष सशस्त्र संघर्षका बेला ज्यान हत्केलामा राखेर सँगै यात्रा गरेका प्रचण्डमाथि विभिन्न आरोप लगाउँदै कमाण्डरको जिम्मेवारी सम्हालेका नेताहरु माओवादीको कट्टर आलोचक ओलीलाई साथ दिन एमाले प्रवेश गरे । ओलीलाई साथ दिन जाँदा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरीले सांसद पद गुमाए ।

सत्ता र शक्तिको संघर्षमा रुमल्लिएको नेपाली राजनीतिमा सांसद पद गुमाएका उनीहरु ओली सरकारका वहालवाला मन्त्रीहरु हुन् । तर, मन्त्री पद पनि उनीहरुले गुमाउने दिनगन्ती सुरु भइसकेको छ ।

संघीय संसदको सदस्य नभएका व्यक्ति ६ महिना मन्त्री बन्न सक्नेछन् भने ६ महिनाभित्र संसदको सदस्य नभए मन्त्रीबाट पदमुक्त हुने संवैधानिक व्यवस्था छ । जसअनुसार माओवादी छाडेर गएकाहरुको मन्त्री पद धरापमा छँदैछ ।

माओवादीले राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गराएका बादललाई प्रधानमन्त्री ओलीले पुनः राष्ट्रिय सभा सदस्य बनाएर गृहमन्त्रीमा निरन्तरता दिने योजनामा थिए । तर, हुन लागेको राष्ट्रिय सभा बागमती प्रदेशको उपनिर्वाचनमा बादललाई उम्मेदवार बनाएर जिताउने ओलीको योजनामा अहिले आएर धक्का लागेको छ ।

एमालेकै नेपाल समूह, कांग्रेस, माओवादी र जसपाको गठबन्धन बनेपछि बादललाई जिताउने ओलीको योजनामा धक्का लागेको हो । सोही कारण बिहीबार (२३ वैशाख) बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले उपनिर्वाचनका लागि जित सुनिश्चित भएपछि मात्रै उम्मेदवार घोषणा गर्ने निर्णय गरेको छ ।
माओवादीबाट निर्वाचित भएका बादल एमाले प्रवेश गरेपछि रिक्त भएको उक्त सिटमा आउँदो जेठ ६ गते उपनिर्वाचन हुने भएको छ । सोही उपनिर्वाचनमा बादललाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले अहिले जित सुनिश्चित भएपछि मात्रै उम्मेदवार घोषणा गर्ने निर्णयमा पुुगेको हो ।

सो सिटमा कांग्रेस, माओवादी, एमालेको नेपाल– खनाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र–बाबुराम समूहले माओवादीका खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

सांसद् र मन्त्री पद जोखिममा पारेर प्रधानमन्त्री ओलीलाई साथ दिन एमाले गएका माओवादीका नेताहरु अहिले ओलीलाई साथ चाहिएका बेला भूमिका विहीन अवस्थामा छन् । संसदबाट प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएसँगै यस प्रयोजनका लागि यही वैशाख २७ गते संसदको अधिवेशन डाकिएको छ । सो क्रममा एक मत पनि प्रधानमन्त्री ओलीका लागि महत्वपूर्ण हुनेछ ।

यस अवस्था माओवादीबाट एमाले गएका नेताहरुले प्रधानमन्त्रीको पक्षमा मत दिन पाउने भएनन्, किनकि उनीहरुले सांसद पद गुमाइसकेका छन् । न प्रधानमन्त्री ओलीको पक्षमा, न त विपक्षमा नै मत दिन पाउने भए, प्रत्यक्ष निर्वाचन जितेका उनीहरुले ।

जुन पार्टीको चुनाव चिन्ह र घोषणा पत्र बोकेर जनताको मन जिते, सोही पार्टी त्यागेर एमाले गएका उनीहरुले न त एमालेकै अध्यक्ष तथा प्रधानमन्त्री ओलीको पक्षमा मत दिएर ओली सरकारको रक्षा गर्न सक्ने भए । बरु सांसद पद गुमाए, निकट भविष्यमै मन्त्री पद गुम्दैछ, आगामी निर्वाचनमा उम्मेदवार बन्ने न पक्का छ ।

यस अवस्थालाई लिएर केहीले रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरीसहित माओवादी छाडेर एमाले प्रवेश गरेका नेताहरु ‘वल्लो घाट न पल्लो तिर’ भनेझै अवस्थामा पुगेका छन् । किनकि अब प्रधानमन्त्री ओलीको शक्तिमा ह्रास आउने क्रम सुरु भएको र जस कारण जुन उद्देश्यले ओलीको ओत लाग्न उनीहरु गए, अब त्यो सम्भावना पनि क्षिण हुँदै गएको माओवादीका नेताहरुले बताउन थालेका छन् ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]