मन्त्रिपरिषद् बैठक सकियो, के-के भयो निर्णय ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ बैशाख ।

आज बिहिबार बसेको मन्त्रिपरिषद्को बैठक केही बेरअघि सकिएको छ । आजको बैठकले राजनीतिक विषय बाहेक विशुद्ध कोभिड–१९ मा छलफल भएको बताईएको छ । बैठकमा अक्सिजन आपूर्तिलाई व्यवस्थित गर्नेबारे छलफल भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

“आजको बैठक मूलतः कोभिड रोकथाम, नियन्त्रणमै केन्द्रित रह्यो । खासगरी अक्सिजन आपूर्तिलाई कसरी सहज, व्यस्थित बनाउने भन्नेबारे छलफल भयो । लुकाइएको सिलिन्डर खोजी गर्ने, त्यसको न्यायोचित वितरण गर्नेबारे छलफल भयो,” उनले भने । आजको बैठकले नचलेको अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउनेबारे पनि छलफल गरेको उनको भनाइ थियो ।

कांग्रेस सभापति देउवालाई भेट्न बूढानीलकण्ठ पुगे माधव नेपाल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका नेता माधवकुमार नेपाल बूढानीलकण्ठ पुगेका छन् ।

बिहीबार साँझ नेता नेपाल देउवालाई भेट्न उनकै निवास पुगेका हुन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवालाई भेटेको भोलिपल्टै नेता नेपाल आफू निकट नेताहरुसहित बूढानीलकण्ठ पुगेका हुन् ।

अहिले सभापति देउवा र नेता नेपालबीच प्रधानमन्त्रीले विश्वासको मत लिने निष्कर्षमा पुगेपछिको परिस्थिति र उनको पक्षमा कसरी विश्वासको मत पुग्न नदिने भन्ने विषयमै छलफल केन्द्रित रहेको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने भएपछि नेताहरुबीचको भेटवार्ता तीव्र बनेको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]