प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ बैशाख ।

नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आकस्मिक रुपमा स्थायी कमिटीको बैठक बोलाएका हुन् ।

बैठकमा आगामी २७ गते प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत, नयाँ सरकार गठन, राष्ट्रियसभाको निर्वाचन, कोरोना महामारी लगायतका विषयमा छलफल हुने बताइएको छ ।

आफ्नै पार्टीको माधव–झलनाथ पक्षका सांसदहरुले विश्वासको मत नदिने संकेतका बीच ओलीले बोलाएको आकस्मिक बैठकलाई चासोका साथ हेरिएको छ ।

एमाले स्थायी कमिटी बैठकलगत्तै राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा

नेकपा एमालेको स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

बालुवाटारमा बसेको बैठक सकिएलगत्तै प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् । बैठकमा संसद्को विशेष अधिवेशन र विश्वासको मतका सम्बन्धमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने गरी यही वैशाख २७ गतेका लागि प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान गरिएको छ ।

बैठकमा प्रधानमन्त्रीले विश्वासको मत पाउने गरी अगाडि बढ्ने निर्णय भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]