रामकुमारीको ओलीलाई चेतावनी- हामी त डुब्छौं, तिमीलाई पनि संगै लिएर जान्छौं

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ बैशाख ।

Ram Kumari Jhakri


नेकपा(एमाले)को माधव नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने संकेत गरेका छन् । सांसद रामकुमारी झाँक्रीले अरुलाई डुबाउन खोज्दा आफू डुब्नुपर्ने चेतावनी दिएकी छिन्। सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा चेतावनी दिँदै उनले लेखेकी छिन्, ’हामी त डुब्छौं नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौं।’

सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज्न भनेकी छिन्। उनको भनाइ छ, ’विचार गर, दम्भ, अहंकार र जिद्दी छोड।’
उनले यसलाई स्पष्ट पार्न एउटा हिन्दी कथनको सहारा लिएकी छिन्। जहाँ भनिएको छ, ’हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।’

माधव नेपाल पक्षले सर्वाेच्चको फैसलापछि पार्टी जेठ २ २०७५ को अवस्थामा नपुगे जे पनि हुनसक्ने चेतावनी दिएका छन् ।

नेतृ झाँक्रीले स्पष्टीकरण सोधिएपछि जवाफ नदिएमा आफ्नो प्रतिरक्षा नगरेको हुने भएपछि कानुन र संविधानअनुसार स्पष्टीकरण दिनुपर्छ भन्ने भएकाले सबै सांसदले व्यत्तिगत तवरबाट जवाफ पठाउने बताएकी छिन् । ‘यो कुनै स्पष्टीकरण दिन लायक स्पष्टीकरण होइन । तर स्पष्टीकरण दिएनौँ भने हामीले आफ्नो प्रतिरक्षा नगरेको हुन्छ । त्यसकारण कानुनतः, संविधानतः हामीले स्पष्टीकरण दिनुपर्छ भन्ने हाम्रो सल्लाह भएको छ’, झाँक्रीले भनिन् ।

नेतृ झाँक्रीले आफूहरूले २०७५ जेठ ३ गते अगाडिको नेकपा एमालेलाई चिन्ने तर गएकाे फागुन २८ गते थपिएका जम्बोरी मान्छेसहितको नेकपा एमाले नचिन्ने पनि तर्क पनि गरेकी छिन् । ‘हामी फागुन २८ गते थपेका जम्बोरी मान्छेसहितको बैठकै चिन्दैनौँ नि । त्यो नेकपा एमाले चिन्दैनौँ । हामीले २०७५ जेठ २ गते अगाडि, ३ गतेको एकताअघिकाे एमाले, त्यसका पदाधिकारी, त्यसका कमिटी, देशभरिको संरचना, जनसङ्गठनलाई चिन्छौँ र त्यसको बैठक बस्यो भने हामी जान्छौँ । त्योभन्दा यताको हामीलाई अमान्य हुन्छ’, उनले चेतावनीको भाषामा भनिन् ।

नेतृ झाँक्रीले नयाँ दल गठन गर्ने आफूहरूको कुनै मनसाय नरहेको पनि स्पष्ट पारेकी छिन् । दल गठन गरेको भन्ने हो भने दलको संरचना हुनुपर्ने, दलको नाम हुनुपर्ने र दर्ता भएको हुनुपर्ने कुरालाई पार्टी अध्यक्ष ओलीले ख्याल गरेको हुनुपर्ने पनि उनले बताइन् ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]