विराटनगर, २२ बैशाख ।
विराटनगरमा उपचाररत कोरोना संक्रमित दुई पुरुषको बुधबार बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का ५४ वर्षीय पुरुषको बिहान ८:१५ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनकाअनुसार कोरोना पुष्टि भएका संक्रमित पुरुषलाई उपचारका लागि मंगलबार राति १२ बजेतिर अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।
मृतकको घाँटीमा क्यान्सरको समस्या रहेको जानकारी दाहालले दिए । त्यस्तै विराटनगर महानगरपालिका–१२ का ६७ वर्षीय वृद्ध पुरुषको पनि बिहान ५ बजेतिर नोबेलमै उपचारका क्रममा मृत्यु भएको छ। प्रबन्धक दाहालका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख १७ गते अस्पताल ल्याइएको थियो।
अस्पताल ल्याउनसाथ आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको भएपनि संक्रमित पुरुषलाई बचाउन नसकिएको उनको भनाइ छ। दाहालले मृतकमा स्वास्थ्य सम्बन्धी पुरानो समस्या केही पनि नभएको बताए। दुवै मृतकको शव व्यवस्थापनका लागि पहल भइरहेको जानकारी उनले दिए।