खोप लगाएकाहरुबाट अर्को व्यक्तिलाई कोरोना सर्ने जोखिम कति छ ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ बैशाख ।

कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज खोप लिएका दुवैलाई कोरोना भाइरसको संक्रमणबाट बच्न परिवार कल्याण महाशाखा तथा विज्ञले सुझाएका छन्।

आजको नागरिक दैनिकमा खबर छ–नेपालमा हालसम्म करिब २० लाख जनाले कोरोनाविरुद्धको पहिलो डोजको मात्रा लिइसकेका छन् भने ४ लाख ३८ हजार जानले दोस्रो मात्रा पनि लिइसकेका छन्। यो हिसाबले कुल जनसंख्याको ७ प्रतिशत खोप लिएका छन्।

खोप लिएका व्यक्तिमा पनि कोरोना संक्रमण हुने र उनीहरुबाट अरुलाई सार्ने भएकाले जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड–१९ विरुद्धको खोप व्यवस्थापन संयोजक डा. श्यामराज उप्रेतीका अनुसार कोरोना भाइरस नयाँ रोग भएको र नयाँ रोगको खोप भएकाले यसको प्रभावकारिता अवधि हेर्न बाँकी छ।

खोप उत्पादनकर्ताका अनुसार कुनै पनि खोपको रोगसित लड्ने प्रतिरक्षा क्षमता सय प्रतिशत नहुने भएकाले खोप लिएपछि पनि जोखिम कायमै रहन्छ।