माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ बैशाख ।

नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

मंगलबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। माओवादी नेता देव गुरुङले मंगलबारको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुलाई पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिए ।

बुधबार समर्थन फिर्ताको पत्र मार्फत जानकारी दिइने नेता गुरुङले जानकारी दिए । आज बैठक ढिला सकिएकाले समर्थन फिर्ताको जानकारी पत्र बुधबार संसद् सचिवालयमा दिनेछौं,’ उनले भने ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने निर्णय गरेका छन्।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र फेल गराउने निर्णय गरेको छ ।

आज बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरिसकेको अवस्थामा त्यसलाई फेल गराउने निर्णय गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकबारे जानकारी गराउँदै कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले भने,‘विश्वासको मतका लागि भनेर संसद बोलाउने जुन काम भएको छ । ओलीजीलाई विश्वाको मतमा फेल गराउने निर्णय भएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत नपाइसकेको अवस्थामा वैकल्पिक सरकार गठनका लागि समेत पहल गर्ने निर्णय गरेको उनले बताए ।

उनले कांग्रेसले यसअघि नै नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरिसकेको अवस्थामा संसदमा विश्वासको मत फेल भइसकेपछि वैकल्पिक सरकारका बारेमा छलफल शुरु गर्ने बताए ।

उनले भने,‘विश्वासको मतमा फेल भएको अवस्था विकल्पको सरकारका लागि के गर्ने भन्ने विषयमा हामीले छलफल शुरु गर्छौं ।

कांग्रेसले सरकारले दोस्रोपटक अध्यादेश जारी गर्ने निर्णयको समेत विरोध गरेको छ । सहमहामन्त्री महतले भने,‘अहिले अध्यादेश मार्फत संवैधानिक आयोगहरुमा नियुक्त गर्ने कामको भर्त्सना गरेका छौं । संसदलाई पटक-पटक छल्ने कुरा पार्टीले भर्त्सना गरेको छ ।

कांग्रेसले कोरोना महामारीले भयावह रुप लिइरहेको अवस्थामा नागरिकले उपचार नपाउने, अक्सिसनको कमी, आईसीयू कमी लगायतका तमाम विषयमा पार्टीले आफ्नो तहबाट पनि काम गर्ने र सरकारको ध्यनाकर्षण गराउने निर्णय गरेको उनले जानकारी दिए ।

उनले भने,‘ कोभिडको सन्दर्भमा कुरोले मात्रै होइन, सरकारले कामले गरोस् भनेर ध्यनाकर्षण गराउने निर्णय भयो ।

आजको बैठकमा कांग्रेसको आगामी महाविधेशनका बारेमा समेत छलफल भएको उनले जानकारी दिए ।

पार्टीको महाविधेशन कोभिडको संक्रमण फैलिएको र निषेधाज्ञाको अवस्था रहेपनि समयमै सम्पन्न गर्नका लागि जिम्मेवारी पाएको निकायलाई काम जारी राख्न निर्देशन दिने र समयमा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको सहमहामन्त्री डाक्टर महतले जानकारी दिए ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]